एकीकृत परिवार सेवा योजना निर्माणका चरणहरू

योजना निर्माणका चरणहरू देहायबमोजिम छन् :

चरण १- गृह भेट तथा सम्बन्ध विस्तार

यस चरणमा बालबालिका र उनीहरूका परिवार, अभिभावक तथा स्याहारकर्तासँग भेटघाट गरिन्छ र सम्बन्ध विस्तार गरिन्छ । यस  भेटमा बालबालिकाको समस्या तथा परिवारमा परेको पिरमर्काका विषयमा सामान्य जानकारी लिइन्छ र ती समस्या र पिरमर्काहरूको सक्दो समाधान खोज्ने प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्छ । यसो गर्दा अभिभावक तथा परिवारका सदस्यहरूमा बालबालिकामा देखिएको अपाङ्गताको कारणले भएको चिन्ता तथा पिर कम गर्न सहयोग पुग्दछ । गृह भेटघाट कार्यक्रम गर्दा अभिभावकको स्वीकृति र सहमति लिनुपर्दछ ।

चरण २: बालबालिका तथा परिवारको अवस्था विश्लेषण

यस चरणमा बालबालिका र उनीहरूका परिवार, अभिभावक तथा स्याहारकर्तासँग भेटघाट गरिन्छ र सम्बन्ध विस्तार गरिन्छ । त्यसपछि अभिभावकको स्वीकृति लिएर बालबालिका तथा परिवारको विभिन्न अवस्थाका बारेमा विस्तृत रूपमा सूचनाहरू सङ्कलन गरी त्यसलाई विश्लेषण गर्ने काम गरिन्छ । यसमा बालबालिकाको सामाजिक र सांस्कृतिक पृष्ठभूमि, अपाङ्गता सम्बन्धी सूचना, सबल पक्ष र अवरोध तथा कार्यगत सीमितता, परिवारको आर्थिक अवस्था आदिका सम्बन्धमा सूचनाहरूको विश्लेषण गरिन्छ ।

चरण ३: योजना सम्बन्धमा छलफल

  • बालबालिकाको अवस्था विश्लेषण गरिसकेपछि एकीकृत परिवार सेवा योजना निर्माण समूहले बालबालिकाको विकास तथा सिकाइको लागि योजना तयार गर्नुपर्दछ ।
  • योजनामा बालबालिकाको सामाजिक र सांस्कृतिक पृष्ठभूमि, अपाङ्गतासम्बन्धी सूचना, सबल पक्ष र अवरोध तथा कार्यगत सीमितता उल्लेख गर्नुपर्दछ ।
  • त्यसपछि बालबालिकाको विकास तथा सिकाइको लक्ष्य निर्धारण गर्नुपर्छ ।
  • लक्ष्य निर्धारण गरिसकेपछि उक्त लक्ष्य हासिल गर्न गरिने क्रियाकलापको खाका तयार गर्नुपर्दछ ।
  • क्रियाकलापका खाकामा घरमा गरिने र प्रारम्भिक बालविकास केन्द्रमा गरिने क्रियाकलापहरू उल्लेख गर्नुपर्दछ ।
  • अशक्त तथा अति अशक्त अपाङ्गता भएका बालबालिकाकाको हकमा प्रारम्भिक सहयोगका कार्यमा अभिभावकले समेत सहभागी हुनुपर्ने भएकाले योजना निर्माणको प्रारम्भिक चरणबाट नै अभिभावकको सहभागिता सुनिश्चित गर्नुपर्दछ।
चरण ४: योजना निर्माण

यो सबैभन्दा महत्त्वपूर्ण चरण हो । योजना निर्धारण गर्दा कुन समय अवधिसम्म अपाङ्गता भएका बालबालिकाले हासिल गर्नुपर्ने सिकाइ तथा विकासका माइलस्टोन के के हुन् र ती माइलस्टोन हासिल गर्न के कस्ता क्रियाकलाप गर्ने भनी निर्क्योल गर्नुपर्दछ । विकासका माइलस्टोन तयार गर्दा स्वास्थ्य, औषधी, थेरापी, परामर्श, संरक्षण लगायतसँग पनि सम्बन्धित भएर तयार गर्नुपर्छ । यससँग सम्बन्धित सेवाहरू दिने संस्था वा निकायको विषयमा उल्लेख गर्नुपर्छ र यसबारेमा अभिभावकलाई बताउनुपर्दछ । यसै गरी योजना कार्यान्वयनका क्रममा आइपर्न सक्ने जोखिम र समाधानका उपाय पनि उल्लेख गर्नुपर्छ ।

चरण ५: योजना कार्यान्वयन तथा अनुगमन

यो कार्यान्वयनको चरण हो । कार्यान्वयनमा विभिन्न प्रकारका सेवा प्रदायक र सरोकारवालाहरू संलग्न हुने भएकाले यसमा सबैले आफ्नो तर्फबाट उपलब्ध गराउने सेवाप्रति प्रतिबद्ध हुनुपर्दछ । योजना कार्यान्वयन अभिभावकको भूमिका महत्त्वपूर्ण हुने भएकाले अभिभावक शिक्षा तथा सचेतनाको कार्यक्रम पनि सँगसँगै लैजानुपर्ने हुन्छ ।

चरण ६: समीक्षा तथा योजना अद्यावधिक

यस चरणमा एकीकृत परिवार सेवा योजनाले लिएको उद्देश्य तथा लक्ष्य हासिल भए नभएको विषयमा समीक्षा गरिन्छ । यदि लक्ष्य प्राप्तिमा कुनै समस्या देखा परेमा त्यसको कारण खोजी गरी योजनामा समाधानको उपाय उल्लेख गर्नुपर्छ । सिकाइमा भएको प्रगति मापन गर्दा अपेक्षित प्रगति नदेखिएमा रणनीतिहरू परिवर्तन गर्दै जानुपर्ने हुन्छ ।

एकीकृत परिवार सेवा योजना तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू

एकीकृत परिवार सेवा योजना तयार गर्दा निम्नलिखित विषयमा ध्यान दिनुपर्छ :

  • बालअधिकार तथा बालबालिकाको संरक्षण र सुरक्षामा ध्यान दिने
  • तथ्यगत विवरण तथा रेकर्ड व्यवस्थापन र गोपनीयताको सुनिश्चितता गर्ने
  • बालबालिकाको उच्चतम् हितमा ध्यान दिने
  • अभिभावक तथा परिवारका सदस्य र हेरचाह गर्ने व्यक्तिको सहभागिताको सुनिश्चितता गर्ने
  • बालबालिकाको आवश्यकता पूर्तिका लागि स्रोतको खोजी गर्ने
  • कानुनी बाधा वा अड्चन भएमा सोको समाधानका उपायको खोजी गर्ने
  • अभिभावक सेवा प्रदायक कहाँ गए नगएको विषयमा सूचना लिने र नगएको भएमा जानका लागि सहजीकरण गर्ने
  • कार्यसम्पादनको क्रममा देखिन सक्ने जोखिमको विषयमा छलफल गर्ने ।