यस सत्रमा हामी प्रारम्भिक बालविकास र सिकाइका लागि एकीकृत परिवार सेवा योजना निर्माण गर्दा आवश्यक पर्ने विभिन्न विषयगत क्षेत्रहरूको बारेमा चर्चा गर्ने छौँ । यसअन्तर्गत जम्मा ९ ओटा क्षेत्रलाई समेटिएको छ जसका बारेमा यहाँ क्रमैसँग चर्चा गरिने छ ।
यसअन्तर्गत बालबालिकाको जनसाङ्ख्यिक सूचना र सामान्य स्वास्थ्यसम्बन्धी सूचना लिनुपर्दछ ।यसमा बालबालिकाको नाम थर, ठेगाना, उमेर, जन्मसम्बन्धी विवरण आदि लिइन्छ । यसै गरी बालबालिकाको मातृभाषा तथा अन्य जनसाङ्ख्यिक तथ्याङ्क भएमा सोको पनि जानकारी लिनुपर्दछ ।
यस खण्डमा परिवारसम्बन्धी विवरणहरू लिइन्छ । अपाङ्गता पहिचान भएको वा नभएकोसम्बन्धी जानकारी, थेरापीसम्बन्धी जानकारी, कुनै सेवा लिएको वा नलिएकोसम्बन्धी जानकारीलगायत सेवाको सम्बन्धमा परिवारको समग्र चासो, चिन्ता, अपेक्षा र गुनासोहरूका बारेमा जानकारी लिइन्छ ।
यसअन्तर्गत बालबालिकामा के कस्तो प्रकारको अपाङ्गता छ, जाँच भएको छ कि छैन, भएको भए त्यसको विवरण, अपाङ्गताको गम्भीरता कस्तो छ भन्ने लगायतका सूचना समावेश गरिन्छ ।
यसअन्तर्गत बालबालिकाको पोषण तथा स्वास्थ्यसम्बन्धी सूचना र जनकारी लिइन्छ । बालबालिकाको जन्मदाको तौल, जन्मपश्चातका प्रवृत्तिहरू, हालको स्वास्थ्य अवस्था, कुनै औषधी प्रयोग गर्ने गरेको भए सोको सूचना आदिबारे जानकारी लिइन्छ ।
यसमा बालबालिकामा कुनै प्रकारको दुखाइ भए नभएको, बालबालिकाका तौल र उचाइमा समस्या भए नभएको, मन पर्ने खाना, विशेष खालको खाना खुवाउने गरे नगरेको, पर्याप्त पौष्टिक खाना उपलब्ध भए नभएको, दाँतसम्बन्धी समस्या भए नभएको, पर्याप्त निन्द्रा लाग्ने वा नलाग्नेलगायतका सूचनाहरू लिनुपर्छ ।
यसै गरी बालबालिकाको व्यवहारसम्बन्धी जानकारी पनि यसै खण्डमा लिनुपर्दछ । बालबालिका खुशी हुँदा के गर्छन्? रिसाउँदा के गर्छन्? रिसाएका बेला रिस शान्त गर्न कति समय लाग्छ? बालबालिका अभिभावकसँग मिलेर बस्छन् कि बस्दैनन् ? अन्य सदस्यसँग कसरी मिलेर बस्दछन्? बालबालिका खेलौनासँग कसरी खेल्छन् ? प्रतिक्रियाहरू कसरी जनाउँछन्? आदि सूचनाहरूसमेत लिनुपर्छ ।
यस खण्डमा खास गरेर अपाङ्गताको अवस्थाअनुसारको सेवा सुविधा सिफारिस गर्नुपर्दछ । त्यसैले क्षेत्र ३ अनुसार अपाङ्गताको परीक्षण भए नभएको वा परीक्षणबाट अपाङ्गता पहिचान भए नभएको उल्लेख गरी पहिलो परीक्षण वा थप परीक्षण आवश्यक पर्ने भएमा लेखाजोखा गरी आवश्यक सेवा तथा सहयोग सिफारिस गर्नुपर्दछ ।
परिवारको आर्थिक तथा शैक्षिक अवस्था, बालबालिकाको सबल पक्षका सम्बन्धमा परिवारले बुझे नबुझेको वा जानकारी भए नभएको, परिवारलाई बालबालिकाको शिक्षा र स्वास्थ्यको अधिकारको विषयमा जानकारी भए नभएको आदि विषयको जाकारी लिइन्छ।
यसै गरी परिवारले बालबालिकाको सहयोगी सेवामा पहुँच पाए नपाएको? समुदायमा बालबालिकासम्बन्धी सेवा सुविधा उपलब्ध भए नभएको तथा परिवारले उक्त सेवा सुविधा पाए नपाएको सम्बन्धमा पनि सूचना लिनुपर्दछ ।
यसबाहेक परिवारका अन्य विषय, जस्तै- परिवारमा को को छन्? परिवार, नातागोता र समुदायबाट अपाङ्गता भएका बालबालिकालाई कुनै सहयोग प्राप्त भए नभएको? परिवारमा कुनै राम्रा नराम्रा घटना घट्दा कसलाई वा परिवारको कुन सदस्यलाई भेट्ने? लगायतका सूचना पनि सङ्कलन गर्नुपर्छ ।
यस खण्डमा बालबालिका के गर्न सक्छन् भन्ने विषयसँग सम्बन्धित विवरण सङ्कलन गर्नुपर्छ र प्रश्नहरू पनि सोहीअनुसार तयार गर्नुपर्छ, जस्तै- परिवारका कुन सदस्य पहिले उठ्छन् ? बालबालिकालाई कसले उठाउँछन् ?, बालबालिकालाई कसले मुख धुने, ब्रस गर्ने क्रममा सघाउँछन् ? बालबालिकाले ती काम आफैँ गर्न सक्दछन् कि सक्दैनन् ? आदि सूचनाहरू सङ्कलन गर्नुपर्छ ।
यसै गरी खाना खाँदा बालबालिकाले स्वयमले खान सक्छन् कि सक्दैनन् ? नुहाउन सक्छन् कि सक्दैनन्? सप्ताहको अन्त्यमा र छुट्टीमा परिवारले बालबालिकाका लागि के कस्ता क्रियाकलाप गर्छन् ? बालबालिकालाई त्यसमा सहभागी गराइन्छ कि गराइँदैन ? लगायतका विवरणहरू यस चरणमा उल्लेख गर्नुपर्छ ।
यस खण्डमा परिवारको हालको अवस्था, परिवारले लिने चासो, चिन्ता, अपेक्षा तथा उपलब्ध स्रोत साधन, परिवारको प्राथमिकताको विश्लेषण गरिन्छ । परिवारको हालको सामजिक तथा आर्थिक अवस्था कस्तो छ? परिवारले आफ्ना बालबालिका कस्तो भएको हेर्न चाहन्छन्? परिवारको प्रथमिकता के हो? भन्ने प्रश्नमा रहेर विवरण लिइन्छ ।
एकीकृत परिवार सेवा योजनाको बालबालिका तथा परिवारसम्बन्धी उपलब्धि परिवारको चासो, प्राथमिकता, स्रोत साधनको आधारमा तयार गर्नुपर्दछ । यस्तो उपलब्धि परिवारको विभिन्न समस्या समाधान गर्ने वा बालबालिकामा रहेको अपाङ्ताको असर कम गर्ने वा दुबैमा हुन सक्छ ।