इन्द्रियमैत्री कक्षाकोठा व्यवस्थापन इन्द्रियसम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूका लागि सहज तथा सिकाइ सहयोगका लागि तयार गरिन्छ । यस प्रकारको कक्षाकोठा व्यवस्थापनले विशेषत: दृष्टि, स्पर्श, गति, स्वाद, गन्ध संवेदनामा कठिनाइ भएका अटिजम तथा अति संवेदनशीलता जस्ता समस्या भएका बालबालिकालाई शान्त र आनन्दमय सिकाइ वातावरण तयार गर्न सहयोग गर्छ ।
अनुभूतिकेन्द्रित (इन्द्रियमैत्री) कक्षाकोठा व्यवस्थापनका फाइदाहरु यसप्रकार छन् :
- समावेशी प्राथमिकताः अनुभूतिकेन्द्रित कक्षा व्यवस्थापनले अपाङ्गता भएकालगायत सबै बालबालिकालाई उत्तिकै महत्व र स्वागतको भान गराउँछ ।
- तनाव हटाउँछः अनुभूतिकेन्द्रित कक्षाकोठा व्यवस्थापनले संवेदनात्मक समस्या भएका बालबालिकालाई तनाव तथा चिन्ता हटाई सिकाइ क्रियाकलापमा सहभागी गराउन सहयोग गर्छ ।
- सिकाइ अभिवृद्धिः अनुभूतिकेन्द्रित कक्षा व्यवस्थापनले संवेदनात्मक बाधाहरु घटाएर बालबालिकाको सिकाइ तथा विकासमा ध्यानाकर्षण गरी प्रभावकारी शैक्षणिक उपलब्धिमा सहयोग गर्छ ।
- आत्मनियमनमा सहयोगः अनुभूतिकेन्द्रित कक्षा व्यवस्थापनले बालबालिकालाई स्वव्यवस्थापन गर्ने सिपहरूको विकास गरी समायोजनका रणनीति अवलम्बन गरी संवेदनात्मक चुनौतीहरूको सामना गर्न सिकाउँछ ।
- स्वावलम्बन सिप अभिवृद्धिः अनुभूतिकेन्द्रित कक्षा व्यवस्थापनले बालबालिका लागि सुरक्षित तथा सहयोगी वातावरण तयार गर्दछ । यसले उनीहरूलाई स्वतन्त्र रुपमा सिक्दै स्वावलम्बी बन्न सहयोग गर्दछ ।
इन्द्रियमैत्री कक्षा व्यवस्थापनका लागि बालविकास शिक्षकले निम्न व्यवहारमुखी रणनीतिका उदाहारणहरू अवलम्बन गर्न सक्नुहुन्छ ।
- शान्त क्षेत्र तयार गर्ने: अनुभूतिकेन्द्रित कक्षा व्यवस्थापनका लागि बालविकास शिक्षकले केन्द्रको कुनै स्थानलाई शान्त क्षेत्र बनाउनुपर्दछ । यस क्षेत्रमा तनाव महसुस गर्ने, धेरै सक्रिय हुने, झगडा गर्ने बालबालिकालाई आराम गर्न र शान्त रहन सहयोग गर्छ ।
- संवेदनात्मक साधनको प्रयोगः संवेदनात्मक अपाङ्गता भएका बालबालिकालाई आवश्यकताअनुसार संवेदनात्मक उपकरणको प्रयोग गर्न सकिन्छ । थिचेर, छामेर खेल्ने स्पर्शनीय बलहरु, बिन व्यागहरू, आवाज आउने बलहरु, गह्रौँ सिरक वा ब्ल्याङ्केट यसका लागि प्रयोग गर्न सकिन्छ । यसले बालबालिकाहरूको संवेदनात्मक आवश्यकता र ध्यानकेन्द्रित बनाउन सहयोग गर्दछ ।
- उज्यालोपनाको समायोजन: बालबालिकालाई अति चम्किलो रङ्गीचङ्गी उज्यालो हटाएर सम्भव भएसम्म प्रकृतिक उज्यालो वा मन्द, शान्त अनुभव हुने उज्यालोको व्यवस्था गर्नुपर्छ ।
- शान्त वातावरण निर्माण: बालबालिकालाई अनावश्यक हल्लाखल्ला नहुने शान्त वातावरणमा बस्ने वा क्रियाकलाप गर्ने व्यवस्था गर्नुपर्छ । कक्षाकोठामा अनावश्यक आवाजहरुलाई नियन्त्रण गर्न खस्रो खालको कार्पेट वा सुकुल, चकटी वा ध्वनि नियन्त्रण बोर्डहरु राखिनुपर्छ ।
- क्रियाकलापमा समायोजनः प्रारम्भिक बालविकास केन्द्रको दैनिक क्रियाकलापअनुसार बालबालिकालाई एउटा क्रियाकलाप गरेपछि अर्को खालको क्रियाकलाप गर्नुपूर्व पटक पटक विश्राम गर्न दिनुपर्छ । उदाहरणका लागि बालबालिकाले बसेर विषयवस्तुको छलफल गरेपछि बालगीत वा बाल कविता वाचन गराउनुपर्छ । यसले गर्दा बसेर सहभागी भएका बालबालिकाले उठेर शारीरिक सञ्चालनसहित मनोरञ्जन गर्ने अवसर पाउँछन् ।
- दृश्य सामग्रीको प्रयोगः बालविकास केन्द्रमा बालबालिकाले देख्ने र बुझ्ने गरी सूचनामूलक सामग्रीहरू राखिनुपर्छ, जस्तै- दैनिक कार्यतालिकालाई चित्रबाट बुझिने गरी र सजिलै हेर्न सक्ने गरी राख्ने जसले गर्दा बालबालिकाले दैनिक तालिका र अपेक्षा सजिलै बुझ्न सक्दछन् ।
- छनौटको व्यवस्थाः बालविकास केन्द्रमा बालबालिकाले आफ्नो इच्छा र शारीरिक आवश्यकताअनुसार बसाइ, सामग्री तथा क्रियाकलापको छनौट गर्न सक्ने गरी छनौटको प्रबन्ध मिलाइदिनुपर्छ ।
समग्रमा अनुभुतिकेन्द्रित कक्षाकोठाको वातावरण विविध क्षमता र आवश्यकता भएका बालबालिकाहरूको सिकाइ आवश्यकता पूरा गर्ने खालको हुन्छ । अनुभूतिकेन्द्रित कक्षाकोठा व्यवस्थापनले संवेदनात्मक अपाङ्गता वा इन्द्रियसम्बन्धी अपाङ्गता भएका बालबालिकाकाले आफ्नो पूर्ण क्षमताको प्रयोगले बालविकास केन्द्रको दैनिक क्रियाकलापमा पूर्ण सहभागी हुने अवसर प्राप्त गर्दछन् ।