दोहोरो वा लगातारको निर्देशन

दोहोरो वा लगातारको निर्देशनले बालबालिकालाई शिक्षकले दिएको निर्देशन स्पष्ट बुझ्न र मनन गर्न सहयोग गर्छ । स्पस्ट र दोहोर्याएर दिइने निर्देशन अपाङ्गता भएकासहित सबै बालबालिकाका लागि प्रभावकारी हुन्छ । यसलाई समावेशी बनाउने केही तरिकाहरू निम्नानुसार छन् :

सिपहरूलाई साना कार्यमा विभाजन गर्ने

बालबालिकाले गर्ने सिपमूलक कार्यहरूलाई छोटो छोटो क्रियाकलापमा टुक्राएर गराउने जसले गर्दा बालबालिकाले स्पष्टसँग बुझेर अभ्यास गर्न सक्ने छन् । दोहोरो निर्देशन दिने, दोहोर्याएर बुझाउने, दोहोर्याएर अभ्यास गर्न लगाउनाले उनीहरुको काम गराइमा निखारता आउनुका साथै कार्य सिपमा अभिवृद्धि भई आत्मविश्वास समेत बढ्छ ।

बहुइन्द्रिय उपयोगी सामग्रीको प्रयोग

बहुइन्द्रिय सामग्रीहरू, जस्तै- हेर्न, छुन, सुँघ्न, अनुभव गर्न सकिने र प्रविधिको प्रयोगले विषयवस्तुको अवधारणा स्पष्ट भई सिकाइ अर्थपूर्ण र प्रभावकारी हुन्छ । विविध निर्देशनात्मक विधिले विभिन्न सिकाइ शैली भएका बालबालिकालाई सहभागी गराउन मद्दत गर्दछ ।

सकारात्मक पृष्ठपोषण

सकारात्मक पृष्ठपोषण तथा पुनर्बलले बालबालिकालाई सिप सिक्नका लागि अझ बढी सक्रियता प्रदान गर्दछ । यसले बालबालिकालाई उत्प्रेरित भई क्रियाकलापमा सहभागी बन्न र अभ्यास गर्नसमेत प्रोत्साहित गर्दछ । बालविकास शिक्षकले प्रशंसा गर्ने, स्याबासी दिनेजस्ता व्यवहार प्रदर्शन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ जसले बालबालिकामा सकारात्मक कार्य गर्नका लागि निरन्तर प्रेरणा प्रदान गर्दछ । सिकाइ क्रियाकलापलाई बहुइन्द्रिय सामग्रीको प्रयोग गरेर ससाना कार्यहरूमा टुक्र्याएर सिकाउँदा बालबालिकाले सकारात्मक पृष्ठपोषणको वातावरण पाउँछन् ।

गोलो घेरामा बसेका केहि बालबालिकाको आँखामा पट्टि बाँधिएको छ, अगाडी केहि सामाग्रीहरु राखिएको छ, छेउमा बसेर महिला शिक्षक निर्देशन दिदै छन्
आँखामा पट्टी बाँधेका बालबालिकालाई छेउमा बसेर शिक्षकले निर्देशन दिँदै