विषयवस्तु, सहयोग तथा सरोकारवाला

हामी यस प्रस्तुतिमा प्रारम्भिक बालविकासका लागि एकीकृत परिवार सेवा योजनाअन्तर्गत योजनामा समेटिने विषयवस्तुहरू, अपाङ्गता भएका बालबालिकालाई गरिने विभिन्न सहयोग र सम्बन्धित  विषय विज्ञ तथा सरोकारवालाहरूका बारेमा र  चर्चा गर्ने छौँ ।

विषयवस्तुहरू
  • अभिभावकहरूलाई अभिभावकत्व कसरी निभाउने भन्ने विषयको ज्ञान र सिप
  • आर्थिक समस्या भएमा त्यसका लागि समाधानको उपायहरू
  • परिवारका सदस्यहरूमा कुनै प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएमा उक्त समस्या समाधान गर्ने तरिकाहरू ।
  • बालबालिकामा भएको अपाङ्गताको कारणले परिवारका सदस्यहरू विचमा वा पारिवारिक सम्बन्धमा कुनै समस्या आएको छ भने त्यसको समाधानको उपाय
  • कुनै परिवारमा अपाङ्गता भएका बालबालिका भएको कारणले उक्त परिवारले समाज वा समुदायबाट कुनै प्रकारको विभेद वा समस्यामा परेको भएमा वा अलग्याएको भएमा उक्त समस्यालाई समाधान गर्ने तरिका
  • बालबालिकाको विकासको वर्तमान अवस्था, परिवारसम्बन्धी विस्तृत सूचना र जानकारी, जस्तै- परिवारको आर्थिक अवस्था, समुदाय तथा घर वरिपरिको सामाजिक पृष्ठभूमि आदि सूचनाहरू सम्वेदनशील हुने भएकाले यस्तो सूचना लिँदा ध्यान दिनुपर्ने कुराहरू
  • एकीकृत परिवार सेवा प्रारम्भ गर्ने मिति, परिवार तथा बालबालिकाको विशेष आवश्यकता सम्बोधन गर्न आवश्यक पर्ने सेवाहरु र योजना कार्यान्वयनबाट हासिल गर्नुपर्ने उपलब्धिहरू
  • प्रत्येक सत्र वा बैठक वा भेटघाटको अवधि, भेटघाटको तालिका, जस्तै- दैनिक, साप्ताहिक, हप्तामा दुई पटक/ तीन पटक, पाक्षिक वा मासिक
  • भेटघाटको प्रकारहरू, जस्तै-  वैयक्तिक वा सामूहिक
  • सेवा प्रवाहको विधि, जस्तै – प्रत्यक्ष वा अप्रत्यक्ष, सल्लाह वा परामर्श आदि
  • सेवा प्रदान गर्ने स्थान (प्राकृतिक वातावरणमा प्रदान गरिने सेवालाई उत्कृष्ट मानिन्छ), जस्तै- घर वा समुदाय
  • सेवा प्रवाहको अवधि (कुल अवधि एक वर्षलाई उपयुक्त मानिन्छ )
  • सेवाको आर्थिक स्रोत व्यहोर्ने निकाय, सेवा शुल्क तिर्नुपर्ने भएमा सोको तरिका र उक्त शुल्क बुझाउनुपर्ने निकाय  
  • सेवा समन्वयकर्ता वा संयोजकको नाम तथा भूमिका
  • सङ्क्रमणकालिन योजनासम्बन्धी क्रियाकलाप
  • एकीकृत परिवार सेवा योजनाले लिएका उद्देश्य पूरा भए नभएको सूचना तथा जानकारी । यस्ता सूचनाहरू लिनका लागि अनुगमन गर्ने विधि, उपकरण र प्रक्रिया
  • विभिन्न सूचनाहरू लिन अभिभावक वा आधिकारिक व्यक्ति वा संस्थाको सहमित/हस्ताक्षर
  • नयाँ योजना निर्माण ।

अपाङ्गता भएका बालबालिकाहरूको सर्वपक्षीय विकास तथा सिकाइका लागि परामर्श, थेरापी, औषधोपचार, सामाजिक सिपहरू जरूरी हुन्छ । यसका लागि परिवारका सदस्य, हेरचाहकर्ता, शिक्षक लगायत सरोकारवाला निकायका विज्ञहरूको सहयोग आवश्यकता पर्दछ। यसरी सहयोग उपलब्ध गराउने विज्ञहरुमा परिवारका सदस्य वा अभिभावक, बाल संरक्षणका सरोकारवाला, चिकित्सक, विभिन्न प्रकारका थेरापी दिने थेरापिष्टहरू, मनोविद, शिक्षक, सामाजिक परिचालक, पैरवीकर्ता आदि पर्दछन् ।

सहयोग तथा सेवाहरू

अपाङ्गता भएका बालबालिकाको सर्वपक्षीय विकास र सिकाइलाई सहजीकरण गर्न माथि चर्चा गरिएका शिक्षक, परिवारका सदस्य, अभिभावक लगायत अन्य विभिन्न सरोकारवालाहरूमार्फत विभिन्न प्रकारका सेवा र सहयोग उपलब्ध गराइन्छ । यस्ता सेवा र सहयोगहरू निम्नानुसार छन् :

  • सहयोगी प्रविधि र सहायक सामग्रीः हिँडडुलमा सजिलो बनाउने सेतो छडी, ह्विलचियर आदि
  • थेरापी सेवाहरूः फिजिजियो थेरापी, अकुपेशनल थेरापी, स्पिच थेरापी आदि 
  • ध्वनि विज्ञान सेवाः सुस्त श्रवण भएका व्यक्तिलाई आवाज सुन्न सहयोग गर्ने श्रवण यन्त्र
  • तालिम र परामर्श: गृहभेट र अभिभावकहरूलाई तालिम र परामर्श
  • पोषण सेवाः पोषिलो खानेकुराहरूको बारेमा जानकारी, खुवाउने विधि र तरिकाहरू
  • मनोसामाजिक परामर्श: आवश्यकताअनुसार बालबालिकालाई मनोसामाजिक सहयोग प्रदान
  • विभिन्न प्रकारका सेवा समन्वयसम्बन्धी सेवाः बालबालिकालाई समुदायमा उपलब्ध विभिन्न सेवाहरूसँग जोडिदिने कामहरू, यतायात सेवा वा यातायात खर्च उपलब्ध गराउने सेवा, दृष्टिसम्बन्धी सेवाहरू