प्रि-ब्रेल यस्तो क्रियाकलापको सेट हो जसमा स्पर्शीय सिपद्वारा ब्रेल सिकाइका लागि तयार गरिन्छ । विशेष गरी ब्रेल दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई दिने अवसर हो जसलाई स्पर्शको अनुभव, स्पर्शबाट सतह तथा आकार छुट्याएर इन्द्रिय अनुगमन विकास गर्दै ब्रेल साक्षरताका लागि अवसर प्रदान गर्छ । प्रि-ब्रेल सिकाइका रणनीतिका केही उदाहरण यस प्रकार छन् :
स्पर्शीय अनुभव प्रि-ब्रेलको तयारीका लागि बालबालिकालाई विभिन्न बनावट र आकारहरू छुने र महसुस गर्ने अवसरहरू प्रदान गर्नाले स्पर्शीय अनुभवद्वारा इन्द्रिय अनुभवसहितको अवसर प्राप्त हुन्छ । खाक्सी, विभिन्न खालका स्पर्शीय कपडा आदिले बहुइन्द्रिय सिकाइ अनुभव प्रदान गर्नुपर्छ । यसले बालबालिकामा स्पर्शनीय र दृष्टिसम्बन्धी चेतनाको विकास गर्दछ ।
अनुकूलित पुस्तक अनुकुलित पुस्तकको प्रयोगले बालबालिकालाई स्पर्शनीय अनुभव दिन सहयोग गर्छ । छोएर चित्रको कल्पना गर्न, स्पर्शबाट पुस्तक पहिचान गर्न सक्षम हुनाले यसबाट प्रि-ब्रेल अभ्यासका लागि सहयोग प्राप्त हुन्छ । यसरी विभिन्न खालका अनुकूलित पुस्तकले विविध सिकाइ शैलीका बालबालिकाको सहभागिता अभिवृद्धि गर्छ ।
प्रि-ब्रेल निर्देशन दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि प्रि-ब्रेल क्रियाकलापले साक्षरता सिप विकास गर्न सहयोग गर्छ । यस क्रममा उनीहरूलाई निरन्तर पृष्ठपोषण र सहयोगको आवश्यकता पर्छ ।
यसरी बालविकास शिक्षकले आफ्नो शिक्षण अभ्यासहरूमा पूर्व-ब्रेल गतिविधिहरू समावेश गरेर समावेशितालाई बढवा दिन र दृष्टिसम्बन्धी अपाङ्गता भएकाहरूसहित सबै विद्यार्थीहरूको विविध आवश्यकतालाई सम्बोधन गर्ने सकारात्मक र आकर्षक सिकाइ वातावरण सिर्जना गर्न सक्छन् । स्पर्श अनुभवहरू प्रदान गरेर, सामग्रीहरु हेरफेर गरेर, अनुकूलित पुस्तकहरू प्रयोग गरेर, ब्रेल निर्देशनहरू प्रदान गरेर बालविकास शिक्षकहरूले पूर्व-ब्रेल र साक्षरता सिपहरूको विकासमा जोड दिनुपर्छ । यसबाट सबै बालबालिकाहरुले राम्रो सिकाइ नतिजा ल्याउन सक्छन् ।