अब हामी वैयक्तिक प्रारम्भिक सिकाइ योजना निर्माणका चरणहरूका बारेमा कुराकानी गर्ने क्रममा बाँकी ४ ओटा चरणहरूको चर्चा गर्ने छौँ किनभने पहिलो भागमा हामीले पहिलो चरणदेखि पाँचौँ चरणसम्मको चर्चा गरिसकेका छौँ ।
यो कार्यान्वयनको चरण हो । यसमा बालबालिकालाई सहयोग र उनीहरूको विकासको लागि चाहिने कामहरू गरिन्छ । योजनाको एक प्रति अभिभावकलाई पनि दिनुपर्दछ । तेस्रो चरणमा छलफल गरिएका सबै सेवा प्रदायक र सरोकारवालाहरूको पनि उक्त योजनामा पहुँच हुनुपर्छ । यसो भएमा उनीहरुले आफ्नो जिम्मेवारीमा पर्ने सेवाहरूलाई तालिकाबद्ध गरी उपलब्ध गराउने छन् ।
योजना कार्यान्वयन गरिसकेपछि पक्कै पनि बालबालिकाको शारीरिक वा मानसिक विकासमा र सिकाइमा विस्तारै सकारात्मक परिवर्तनहरू देखिन थाल्छन् । त्यसैले यस चरणमा बालबालिकाको प्रगति मापन गर्ने गरिन्छ र उक्त प्रगतिको बारेमा अभिभावकलाई जानकारी गराउने गरिन्छ । प्रगति मापन गर्ने विभिन्न विधि र उपकरणहरूको उपयोग गरिन्छ । यस्तो प्रगति मापन निश्चित समयतालिकामा निरन्तर गरिनुपर्छ । बालबालिकाको विकास र सिकाइसम्बन्धी प्रगति मापन र प्रतिवेदन हरेक तीन महिनामा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
यस चरणमा वैयक्तिक प्रारम्भिक सिकाइ योजनाको पुनरावलोकन गरिन्छ । योजनाले प्रभावकारी रूपमा काम गर्न सकिरहेको छ या छैन तथा रणनीतिमा कुनै प्रकारको फेरवदल गर्नुपर्ने आवश्यकता पो छ कि भन्ने कुरा थाहा पाउन यस्ता पुनरावलोकनहरू गरिन्छन् । यसै गरी कतिपय क्रियाकलापहरू एउटा निश्चित समयावधिभित्र मात्र गर्न सकिने पनि हुनुपर्छ । यस्तो पुनरावलोकन खासगरी प्रत्येक तीन महिनामा र कम्तिमा वर्षको एकपटक गर्नुपर्दछ । अभिभावक वा प्रारम्भिक बालविकास केन्द्रले आवश्यक ठानेमा त्योभन्दा अगाडि नै पनि पुनरावलोकन गर्न सकिन्छ । पुनरावलोकनमा अभिभावक तथा सम्पूर्ण सेवा प्रदायकलाई सहभागी गराउनुपर्दछ ।
यो चरणमा कार्यगत सीमितता वा अपाङ्गताको पुन: परीक्षण गरिन्छ । अपाङ्गता भएका तथा कार्यगत सीमितता भएका बालबालिकाको अपाङ्गता परीक्षण कम्तिमा तीन वर्षको एकपटक गर्नुपर्दछ। यस परीक्षणको मुख्य उद्देश्य बालबालिकामा भएको अपाङ्गता तथा कार्यगत सीमितताको स्तर र यसको असर कस्तो छ भनी जानकारी लिनु हो । अवस्था जस्ताको तस्तै छ, गम्भीरता बढेको छ वा घटेको छ भन्ने विषयमा समय समयमा बुझ्नका लागि यो परीक्षण गर्नुपर्छ । यस्तो परीक्षण वा जाँच हरेक तीन तीन वर्षमा एक पटक गर्नुपर्छ । तथापि बालबालिकाको अवस्था थप गम्भीर हुँदै गएमा गएमा पटक पटक परीक्षण र पुनरावलोकन गर्नुपर्दछ ।