साना समूह र दौँतरी सहायता

दौँतरी (जोडी) तथा सानो समूह सिकाइ प्रभावकारी सिकाइको एक रणनीति हो जसलाई प्रारम्भिक बालविकास केन्द्रको दैनिक कार्यतालिकाअनुसार समावेशी सिकाइ सहजीकरणमा सहयोगी मानिन्छ । सानो समूह तथा दौँतरी सिकाइका माध्यमबाट बालबालिकाले छिटो र सरल तरिकाले एक अर्काबाट सिक्न सक्छन् साथै सहयोग, पृष्ठपोषण तथा उत्प्रेरणा समेत प्राप्त गर्दछन् । यसका अलावा समन्वयात्मक र कार्यमा आबद्ध हुने वातावरणसमेत पाउँछन् ।

सानो समूह तथा दौँतरी सहायता सिकाइको फाइदा

समावेशिताको अभिवृद्धि:

साना समूह र दौँतरी सहायताका क्रियाकलापले अपाङ्गता भएका र नभएका बालबालिकाहरू बिच एक अर्कामा सहयोग गर्ने, एक अर्कोलाई उत्प्रेरणा लिने दिनेका साथै एक अर्काप्रति माया, सहयोग, अपनत्व जस्ता गुणहरुको पनि विकास हुन्छ ।

सामाजिक सिप अभिवृद्धि:

जोडी कार्य तथा साना समूह कार्यले बालबालिकाको सामाजिक गुणहरू, जस्तै- सञ्चार, सहकार्य तथा समस्या समाधानमा समेत सहयोग गर्दछ ।

सिकाइ अभिवृद्धिः

जोडी तथा समूह कार्यले बालबालिकालाई सक्रिय सहभागी बनाउनुको साथै सिकाइमा थप संलग्नता बढाउन सहयोग गर्दछ । यसबाट एक अर्कालाई बुझ्नुका साथै शैक्षिक सुधारमा सहयोग गर्दछ ।

आत्मविश्वासमा अभिवृद्धि:

साना समूहमा रहेर कार्य गर्ने अवसर पाउँदा वा दौँतरी सहायता पाउँदा बालबालिकाले एक अर्काको क्षमता पहिचान गर्न सक्छन् । एक अर्कालाइ क्षमता अभिवृद्धिको लागि उत्प्रेरित गर्न सक्छन् । यसले गर्दा स्वाध्ययनका लागि आत्मविश्वासमा पनि वृद्धि हुन्छ ।

विशेष आवश्यकता भएका बालबालिकालाई सानो समूह सहकार्य:

सानो समूहको क्रियाकलाप अपाङ्गता भएका बालबालिकाका लागि थप अवसर प्रदान गर्न महत्वपूर्ण हुन्छ । बालविकास शिक्षकले व्यक्तिगत आवश्यकता बुझेर समावेशी समूह तयार गरी विशेष सिकाइ आवश्यकता भएका बालबालिकालाई सिकाइमा सहयोग र आवश्यकता सम्बोधन गर्नुपर्दछ ।

सानो समूह सिकाइको फाइदा

  • व्यक्तिगत आवश्यकतामा जोड: सानो समूहमा शिक्षकले प्रत्येक बालबालिकालाई उत्तिकै ध्यान दिन पाउँछन् र तिनीहरूको सिकाइ आवश्यकता पनि सहजै पहिचान हुन्छ ।
  • सक्रिय सहभागितामा जोड: समूह कार्यले बालबालिकालाई कक्षा कार्यमा सक्रिय सहभागी बन्न उत्साहित बनाउँछ ।
  • समूह कार्यमा वृद्धिः समूह कार्यले बालबालिकालाई सक्रिय सहभागी बनाउनुका साथै सिकाईमा थप संलग्न बनाउन सहयोग गर्दछ । यसका साथै सञ्चार, सहकार्य तथा समस्या समाधानमा समेत सहयोग गर्दछ ।
  • पृष्ठपोषण: सानो समूहमा शिक्षकले प्रत्येक बालबालिकालाई उत्तिकै ध्यान दिन पाउने भएकाले व्यक्तिगत रूपमा बालबालिकालाई सिकाइ सुधारका लागि पृष्ठपोषण प्रदान गर्न सजिलो हुन्छ ।

बालबालिकाहरूलाई साना समूहमा राखेर विभिन्न गतिविधिहरू गराउँदा उनीहरूमा एक अर्काप्रति सहयोगको भावना बढ्नुका साथै  उनीहरुमा सामाजिक सक्षमता पनि विकास हुन्छ । यसका साथै संज्ञानात्मक र समग्र विकासमा सहयोग पुग्दछ ।

सामूहिक कार्यबाट सिकाइ गर्दै बालबालिका
साना समूहमा सिकाइ गर्दै बालबालिका

सोच्नुहोस् त, स्थानीय स्तरमा पाइने विभिन्न सामग्रीहरूबाट सिकाइ सहजीकरण कसरी सहयोग पुग्छ ?

स्थानीय स्तरमा पाइने विभिन्न सामग्रीहरु सङ्कलन गरी नयाँ सिकाइ गर्न प्रयासरत बालबालिका

स्थानीय स्तरमा पाइने सामग्रीलाई रचनात्मक ढङ्गले सिकाइ सामग्रीको रुपमा प्रयोग गर्नु महत्वपूर्ण हुन्छ

स्थानीय स्तरमा पाइने सामाग्रीलाई रचनात्मक ढंगले सिकाई सामाग्रीको रुपमा प्रयोग गर्दै बालबालिकाहरु, चित्रमा मकैको खोया बाट क बनाएका छन् I
स्थानीय स्तरमा पाइने सामग्रीहरुको प्रयोग गरी सिकाइ गर्दै बालबालिका