बालविकास केन्द्रको दैनिक क्रियाकलापको अनुकूलन

नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट लागू गरिएको प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम, २०७७ ले सुझाएको दैनिक कार्यतालिकाअनुसारको क्रियाकलापलाई समावेशी बनाउनुपर्दछ र समावेशी बनाउँदा विविध क्रियाकलाप थप गर्न वा हटाउन सकिन्छ

शुभ बन्दना

बालविकास केन्द्रको सुरुआती क्रियाकलाप शुभ बन्दना हो । बालविकास केन्द्रको दैनिक कार्यतालिकामा शुभ बन्दनालाई बाहिरी खेल तथा अन्य क्रियाकलापसँग रमाइलो तरिकाले जोड्नुपर्छ । शुभ बन्दनालाई अझ बढी समावेशी बनाउन यी रणनीतिहरु अपनाउन सकिन्छ :

  • शुभ बन्दना गराउँदा हाउभाउसहित गर्न उत्प्रेरित गर्ने र सुरुमा पर्खदै, रोकिदै गर्ने जस्ता बहुइन्द्रिय परिचालनका क्रियाकलाप गरेर बालबालिकालाई सहभागी गराउने गर्नुपर्छ ।
  • विषयवस्तुको छलफलका क्रममा अवधारणा सहजै बुझाउन चित्र, सम्भव भएसम्म भिडियो र वास्तविक वस्तु आदिको प्रयोग गर्नुपर्छ ।
  • यसैगरी शारीरिक, इन्द्रिय तथा बौद्धिक आवश्यकता भएका बालबालिकालाई आवश्यकताको आधारमा क्रियाकलापलाई रणनीतिक रुपमा पमिार्जन गर्नुपर्छ । उदाहरणका लागि उभिन तथा हिँडडुल गर्न कठिन भएका बालबालिकालाई गुड्ने मेच वा साथीको सहयोगमा खेलाउने गर्नुपर्छ ।

खेल

खेल बालबालिकाको सिकाइको परिपूरक हो । खेलको माध्यमबाट उनीहरुको सामाजिक सिपको अतिरिक्त समस्या समाधान, सहयोगको आदान प्रदान, नेतृत्व लिने दिने तथा सर्वाङ्गीण विकासको अवसर प्राप्त हुन्छ । तर सबै बालबालिकाले अवसर पाउनका लागि खेललाई परिमार्जित र खेल सामग्रीलाई अनुकूलन गरेर शारीरिक, इन्द्रियजन्य तथा बौद्धिक आवश्यकता भएका बालबालिकालाई सहभागी गराउन सकिन्छ । खेललाई समावेशी बनाउने केही रणनीतिहरु यस प्रकार छन् :

चित्रमा चार ओटा  पिङ्ग छन्, प्रतेक पिङ्गमा  तिन देखि चार जना बालबालिका एकआपसमा कुरा गर्दै ,रमाउदै पिङ्ग खेदै छन्
एकआपसमा रमाउँदै पिङ्ग खेल्न व्यस्त बालबालिकाहरु
  • साथीसँग मिलेर इन्द्रिय अङ्गहरुमा छुने खेल जस्तै नाक खोइ ? नाक छोएर मेरो एउटा नाक, आँखा खोइ ? आँखाहरु देखाएर मेरो दुइओटा आँखा भनेर खेल्ने, ‘माछा माछा भ्यागुतो’ जसता सानो समूह तथा जोडीमा खेलिने खेलहरूमा सहभागी गराउने ।
  • सूक्ष्म अङ्ग सञ्चालनका खेल खेल्न कठिनाइ हुने बालबालिकालाई स्थूल अङ्ग सञ्चालनका खेलहरु खेलाउने र समूह कार्य गराउनुपर्दछ ।

इन्द्रिय खेल

बालविकास केन्द्रको दैनिक कार्यतालिकामा सानो समूहको क्रियाकलापको योजना रहेको हुन्छ । यो क्रियाकलाप गर्दा इन्द्रिय चलायमान बनाउने तथा विकास गर्ने खालका खेल खेलाउनुपर्दछ । यस्ता खेलका लागि प्रशस्त इन्द्रिय आवश्यकताको सम्बोधन गर्ने खालका खेल सामग्रीहरूको आवश्यकता पर्दछ । यसका लागि निम्न रणनीतिहरू लागू गर्न सकिन्छ :

  • बालविकास केन्द्रको सिकाइ क्षेत्रमा राष्ट्रिय न्यूनतम मापदण्डले तोकेको न्यूनतम् छ ओटा सिकाइ क्षेत्र हुनुपर्छ । यसमा विज्ञान क्षेत्रमा खस्रो, मसिनो, बाक्लो, चिप्लो बिनब्याग आदि राखिएको हुन्छ । स्वादका वस्तुहरू,जस्तै-नुन, चिनी, अमिलो र अन्य खान मिल्ने वस्तु राखिएका हुन्छन् । बास्ना सुँघ्ने वस्तुहरु, जस्तै- अदुवा, लसुन, मसलादार तरकारी, फलफूल, प्याज आदि राखिएका हुन्छन् ।यसै गरी आवाज आउने वस्तुहरू, जस्तै- बाजा, घण्टी, छिनछिन बाजा, मादल आदि पनि राखिएका हुन्छन् । यी माथि उल्लेख गरिएका सामग्रीहरू इन्द्रिय खेलका लागि बहुउयोगी तथा सजिलै उपलव्ध हुने सामग्रीहरू हुन् ।
  • यसैगरी राष्टिय न्यूनतम मापदण्डको सुझावअनुरुपका सिकाइ क्षेत्रअनुसारको सिकाइ सामग्रीहरूसहित अनुकूलित सामग्रीहरु थप गरी सो क्षेत्रहरूमा बालबालिकाले सजिलै राख्न र झिक्न सक्ने गरी राखिएको हुनुपर्छ ।
  • क्रियाकलापको उदेश्यमा प्रस्ट पार्न र सहज बुझाइका लागि दृश्यसम्बन्धी सामग्रीहरू, जस्तै- ठुला चित्रहरु भएको सfमग्रीहरु राख्नुपर्छ ।
  • बालबालिकालाई विभिन्न सिकाइ सामग्री तथा क्रियाकलापलाई आवश्यकतानुसार परिमार्जन वा अनुकूलन गरेर शारीरिक तथा इन्द्रियजन्य आवश्यकता भएका बालबालिकालाई अवसर दिनुपर्छ ।

सिकाइ क्रियाकलाप

सिकाइ क्रियाकलाप बालबालिकाको बौद्धिक सिप अभिवृद्धिका लागि र शैक्षणिक सिप वृद्धिका लागि महत्वपूर्ण हुन्छ । निर्देशनात्मक सिकाइभन्दा बालबालिकाको सिकाइ शैली र आवश्यकताअनुरुप प्रभावकारी सिकाइ अवसर प्रदान गरिनु महत्वपूर्ण हुन्छ । सिकाइ क्रियाकलापलाई समावेशी बनाउने रणनीतिहरु देहायबमोजिम छन् :

  • सम्भव भएसम्म वास्तविक वस्तुको प्रयोगलाई प्राथमिकता दिने, सुनाइ उपकरण प्रयोग गर्ने, हातले छोएर वास्तविक वस्तुको प्रयोग गर्ने, सुँघ्ने, चाख्ने, अनुभव गर्ने जस्ता बहुइन्द्रिय उपयोगी सामग्रीको प्रयोग गरी विविध सिकाइ आवश्यकता भएका बालबालिकालाई सहभागी गराउने ।
  • बालबालिकालाई विविध सिकाइ आवश्यकताअनुसार क्रियाकलाप परिमार्जन गर्दै सिकाइ अवसर प्रदान गर्नुपर्छ, जस्तै- सूक्ष्म अङ्गका क्रियाकलापहरु गराउन समूह तथा जोडीमा सहकार्य गराउने जसले गर्दा पूर्व लेखाइको सिप समेत अभिवृद्धि हुन्छ ।
बालबालिकाहरुलाई आराम गर्न दिनु दैनिक कार्यतालिका अन्तर्गतको मुख्य गतिबिधि हुने भएकोले कक्षा कोठा भित्र बालबालिकाहरु आराम गर्दै
बालबालिकाहरु कक्षाकोठाभित्र आराम गर्दै

आराम/ विश्राम

बालबालिकालाई आराम गर्न दिनु दैनिक कार्यतालिका अन्तर्गतको मुख्य गतिविधि हो ।आरामले बालबालिकाको क्षमतालाई प्रोत्साहन गर्नुको साथै शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पार्दछ ।सम्भव भएसम्म बालबालिकाले आराम गर्ने सुरक्षित कोठा वा ठाउँ निर्धारण गर्नु राम्रो हुन्छ । विश्रामले शैक्षिक गतिविधिहरूबाट थकाम महसुस भएका बालबालिकाको ध्यान र एकाग्रतामा सुधार गर्दै पुन: उर्जा प्रदान गर्न मद्दत गर्दछ । यसले उनीहरूको मस्तिष्क र शरीरलाई स्फूर्तिको अनुभूति गराउँछ। बालविकास शिक्षक र कर्मचारीहरूले यो समयमा शान्त वातावरण सिर्जना गर्ने र बालबालिकाले आराम गरे नगरेको रेखदेख गर्नुपर्दछ ।

बालबालिकालाई विभिन्न पुस्तकहरूसँग परिचित गराउनाले उनीहरूको भाषिक सिप मात्र नभइकन, संज्ञानात्मक सिप र कल्पना गर्ने क्षमतामा  पनि फाइदा पुग्छ।बालबालिकाहरूलाई ठूलो स्वरमा पढ्न दिनुहोस् । उनीहरूलाई कथा, कविता र गायनमा संलग्न हुन प्रोत्साहन गर्नुहोस्। साथै उनीहरू आफैँलाई पुस्तकहरूसँग समय बिताउन दिनुहोस्।

सिकाइका लागि राखिएका पुस्तकहरू चलाउँदै बालबालिका

एकछिन सोच्नुहोस् त, तल दिइएका दुईओटा तस्बिरहरूमा बालबालिकाको बसाइ व्यवस्थापन ठिक छ ?

कुनै पनि क्रियाकलाप गर्ने बेलामा बालबालिकाको आसनलाई ध्यान दिनुहोस्। अगाडिपट्टि  घोप्टिएर वा ढल्किएको बेलामा कलम चलाउनु बालबालिकाको लागि चुनौतिपूर्ण हुनसक्छ।
प्रत्येक बालबालिकाको लागि तोकिएको ठाउँलाई सङ्केतस्वरूप चकटी राखिदिनाले उनीहरुले आफ्नो बसाइ व्यवस्थापन सुरक्षित भएको महसुस गर्छन्।