आधारभूत परामर्श र भावनात्मक सहायता

आधारभूत परामर्श

बालबालिकाहरूको भावनात्मक, बौद्धिक, संवेगात्मक, संज्ञानात्मक विकासको अवस्था हेरेर उनीहरूका मनका अप्ठ्याराहरूलाई सुनिदिएर वा बुझिदिएर ती समस्या तथा मनका अप्ठ्याराहरूको निराकरण गर्न भावनात्मक बल प्रदान गर्ने, सशक्तीकरण गर्ने अनि बालमैत्री अनुभव साटासाट गर्ने वातावरण सिर्जना गर्ने प्रक्रियालाई आधारभूत परामर्श भन्ने बुझिन्छ ।

भावनात्मक सहायता

बालबालिकाको आचरण, व्यक्तिगत र सामाजिक व्यवहारहरू हेरेर, रुचि, चाहना, सम्भावना र समस्यामा आधारित रहेर उनीहरूलाई आफ्नोपन महसुस गराउने, उनीहरूको मनोभावना बुझ्ने पनि कोही छ है भन्ने खास भावनाको विकास गराउने प्रक्रिया भावनात्मक सहायता हो।

आधारभूत परामर्श र भावनात्मक सहायताको महत्व

जुन बालबालिकाहरूमा संज्ञानात्मक र संवेगात्मक विकास, समस्या पहिचान र सहयोगको बिकास हुने गर्दछ त्यस्ता बालबालिकाले आफ्नो मनोभावनालाई व्यक्त गर्न सक्ने,आफूलाई लागेका कुराहरु साथीहरुसँग व्यक्त गर्न सक्ने छन्।

कक्षाकोठामा प्रयोग गर्न सकिने आधारभूत परामर्श र भावनात्मक सहायताका केही उपायहरु

बालबालिकाहरूलाई रमाइलो वातावरण सिर्जना गरेर सिकाइप्रति रुचि बढाउने, कथा, कविता, गीत भनेर वा भन्न लगाएर रमाइलो गर्दै परामर्श गर्न तथा उनीहरुलाई आवश्यकअनुसार सहायता दिन सकिन्छ। हाँसेको, खुसी भएको, चित्र देखाएर पनि उनीहरुको मनोभावना बुझ्न सकिन्छ।