प्रारम्भिक बालविकास तथा शिक्षासँग सम्बन्धित सरोकारवाला भन्नाले खास गरेर यस क्षेत्रमा काम गर्ने तथा चासो राख्ने, यस सम्बन्धमा निर्णय गर्ने, नीति वा योजना बनाउने, बालविकास तथा शिक्षाको कार्यक्रमहरूले प्रत्यक्ष रूपमा प्रभाव पार्ने समूह, संस्था, निकाय र व्यक्तिहरू बुझ्नुपर्छ । यसै गरी बालविकासका विज्ञ, शिक्षाविद लगायतका व्यक्तिहरू पनि यसअन्तर्गत पर्दछन्।
सरोकारवाला किन चाहिन्छ ?
यस्ता सरोकारवालाहरूसँगको समन्वय र सहकार्यबाट विद्यालयले प्रारम्भिक बालविकास तथा शिक्षाको लागि ज्ञान, सिप, अनुभव, विचार, नीति, कानुन, मापदण्डहरू, सूचना, प्राविधिक सहयोग, आर्थिक सहयोग लगायतका कुराहरू प्राप्त गर्न सक्छ । त्यसैले बालविकास केन्द्रले यस्ता सरोकारवालासँग समन्वय र सहकार्य गर्नुपर्छ ।
हाम्रा वरिपरि को को सरोकारवाला छन् त ?
अभिभावकहरू, समुदायका अगुवा व्यक्तिहरू र सामाजिक कार्यकर्ताहरू जसले बालबालिकाका विभिन्न सवाल र समस्याहरू पहिचान गर्न, बालबालिकालाई राम्रोसँग बुझ्न र समस्याहरूको समाधानको खोजी गर्न मद्दत गर्छन् ।
सामाजिक सङ्घ संस्थाहरू, जस्तै- अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका संस्था वा बालविकास र बालशिक्षामा सहयोग गरिरहेका सामाजिक संस्थाहरू जसले बालबालिकाका लागि सही नीति र योजना बनाउन मद्दत गर्न सक्छन् ।
स्थानीय तहको शिक्षा इकाइ जसले स्थानीय सरकारलाई प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी नीति र कार्यक्रमहरू बनाउन सघाउँछ ।
शिक्षकहरू जसले बालबालिकालाई शिक्षा दिने, असल व्यवहारहरू सिकाउने र जीवनोपयोगी सिपहरू सिकाउने काम गर्छन् ।
बालविकास विज्ञ, शिक्षाविद्, अपाङ्गतासम्बन्धी विज्ञ, अपाङ्गता अधिकारकर्मीहरू जसले समावेशी शिक्षाको सेवालाई उठान गर्ने गर्छन् र सँगसँगै प्रारम्भिक बालविकास तथा शिक्षालाई सबैका लागि कसरी समावेशी बनाउने भन्ने विषयमा समाधानका उपायहरू खोज्नमा सहयोग गर्छन् ।
सरोकारवालासँग समन्वय र सहकार्य कसरी गर्ने त ?
सबैभन्दा पहिले त सरोकारवालाहरूको सूची तयार गर्नुपर्छ ।
त्यसपछि सरोकारवालाहरूको विषय विज्ञताबारे सम्पूर्ण सूचना सङ्कलन गर्नुपर्छ । प्रारम्भिक बालविकास तथा शिक्षाका लागि के के विषयमा सहकार्य गर्न सकिन्छ वा उनीहरूले के कुरामा योगदान गर्न सक्छन् भन्ने थाहा पाउनु आवश्यक हुन्छ ।
बालबालिकाले दैनिक भोगिरहेका चुनौती, समस्या र उनीहरूमा भएका क्षमतालाई पहिचान गर्न अभिभावकसँगको सहकार्य निकै प्रभावकारी हुन्छ भने अपाङ्गता भएका बालबालिकाका सिकाइ आवश्यकतालाई कसरी पहिचान गर्ने भन्ने बारेमा बालविकास विज्ञ, अपाङ्गता अधिकारकर्मी वा अपाङ्गतासम्बन्धी विज्ञको सहयोग चाहिने हुन्छ ।
यसै गरी प्रारम्भिक बालविकास तथा शिक्षा सम्बन्धमा स्थानीय तहले कस्तो योजना ल्याउने भन्ने विषयमा स्थानीय तहको शिक्षा इकाइसँगको छलफल महत्वपूर्ण हुन सक्छ भने शिक्षण सिकाइ विधिलाई कसरी रचनात्मक र बालमैत्री बनाउने भन्ने विषयमा शिक्षकहरूसँग छलफल एकदमै फलदायी हुन सक्छ ।
यसरी सरोकारवालाको पहिचान र योगदान वा सहकार्यको क्षेत्र थाहा पाइसकेपछि प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमलाई चाहिएको सहयोग वा उक्त कार्यक्रमले सरोकारवालासँग गरेको अपेक्षालाई पनि सूचीबद्ध गर्नुपर्छ ।
यसपश्चात् आवश्यकता हेरी उनीहरूसँग क्रमशः सञ्चार, संवाद र सहकार्य अगाडि बढाउनुपर्छ । सहकार्य गर्नका लागि औपचारिक वा अनौपचारिक बैठक, छलफल, गोष्ठी, कार्यशाला, भ्रमण, अन्तर्क्रिया उपयोगी विधि हुन सक्छन् ।