सञ्जाल निर्माण

सञ्जालीकरण भनेको के हो?

समान उद्देश्य राख्ने समूह, व्यक्ति, संस्था र निकायबिचमा विभिन्न विषयमा सूचना, अनुभव, संवाद र सिकाइहरू आदानप्रदान गर्न सामूहिक सम्पर्क सूत्र निर्माण गरिन्छ । यस्तो सम्पर्क सूत्रलाई सञ्जाल भनिन्छ र सम्पर्क सूत्र स्थापना गर्ने कार्यलाई सञ्जालीकरण भनिन्छ ।

विभिन्न सवालहरूमा एकता कायम गर्न र आवाजहरू उठाउन पनि सञ्जाल निर्माण गरिन्छ । हिजो आज सूचना प्रविधिको विकास र यसमा भएको सबैको पहुँचले सञ्जाल निर्माण गर्न वा सञ्जालीकरण गर्न निकै सहज भएको छ । इमेल, फेसबुक, ट्विटर, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, स्न्यापच्याट, कोरा, लिंक्डइन आदिमा सञ्जाल निर्माण गर्न सकिन्छ।

सञ्जालीकरणले प्रारम्भिक बालविकास तथा शिक्षामा के फाइदा हुन्छ?

विभिन्न सूचना प्रविधिको प्रयोग गरी दुई वा दुईभन्दा बढी बालविकास केन्द्रहरूको बिचमा बालविकास शिक्षकहरूले सञ्जाल स्थापना गर्न सकेमा सिकाइ लागत र समयको दृष्टिकोणले सहज र सस्तो हुन्छ । सञ्जाल स्थापना भैसकेपछि बालविकास शिक्षकहरूले त्यसमार्फत बालविकास केन्द्रमा विभिन्न विविधता भएका बालबालिकाहरूसँग काम गर्दाका राम्रा अनुभवहरू एक आपसमा आदानप्रदान गर्न सजिलो हुन्छ जसले सञ्जालमा सदस्य रहेका अन्य शिक्षकहरूलाई नयाँ कुरा सिक्न मद्दत गर्छ ।

बालबालिकासँग काम गर्दा कतिपय शिक्षकलाई विभिन्न चुनौतीको सामना गरिराख्नुपरेको हुन सक्छ । यस्ता चुनौतीहरूको बारेमा सञ्जालमा छलफल गरेर उपयुक्त समाधान निकाल्न सकिन्छ । बालबालिकासँग काम गर्दा शिक्षकलाई नयाँ कुराहरू सिक्ने अवसर प्राप्त हुन्छ जसलाई सञ्जालको माध्यमबाट अरू शिक्षकहरूसम्म पुर्याउन सकिन्छ । शिक्षकहरूले विभिन्न माध्यमबाट बालविकास तथा शिक्षासम्बन्धी लिएका उपयोगी जानकारी र सूचनाहरू सञ्जालका सदस्यहरूसँग आदानप्रदान गर्न सक्छन् । 

सञ्जालमा कहिलेकाहीँ विभिन्न विषयका विज्ञहरूलाई पनि जोड्न सकिन्छ । विज्ञहरूबाट सुझाव लिई बालविकास शिक्षकहरूले आफ्नो कार्यमा सुधार ल्याउन सक्छन् । सञ्जालमा रहेका सदस्यहरूले आपसमा तथा विज्ञसँग प्रत्यक्ष भेटघाट गरेर पनि विभिन्न विषयहरूमा छलफल गर्न सक्छन् ।

सञ्जालीकरण कोसँग गर्ने ?

एउटै उद्देश्य रहेका समूह र निकायबिच सञ्जालीकरण भयो भने त्यो निकै प्रभावकारी हुन्छ । त्यसैले विभिन्न बालविकास केन्द्रका शिक्षकहरूबिचमा सञ्जालीकरण हुन जरूरी छ । साथै शिक्षकहरूले बालविकास विज्ञ, अपाङ्गता अधिकारकर्मी, समावेशी शिक्षाविद, अपाङ्गतासम्बन्धी विज्ञहरूलाई पनि समय समयमा सञ्जालमा जोडेर फाइदा लिन सक्छन् । यसै गरी यस्तो सञ्जालीकरण अभिभावकहरूबिचमा भयो भने पनि एकदमै प्रभावकारी हुन्छ । यसका लागि शिक्षकहरूले अभिभावकलाई अभिप्रेरित गर्न आवश्यक हुन्छ ।

सञ्जालीकरण कसरी गर्ने ?

  • सबैभन्दा पहिले सञ्जाल के उद्देश्यले निर्माण गर्न लागिएको हो भन्ने विषयमा स्पष्ट हुनुपर्छ ।
  • उद्देश्य तय भइसकेपछि सञ्जाल कसरी सञ्चालन गर्ने, के के विषयमा छलफल गर्ने, के कस्ता सूचना साझा गर्ने, कस्ता प्रकारका सूचनाहरू साझा नगर्ने भन्ने विषयमा नियम अथवा एक प्रकारको प्रोटोकल तयार गर्नुपर्छ ।  
  • अहिले सञ्जालिकरणको लागि विभिन्न माध्यमहरूको उपयोग गर्न सकिन्छ । यसका लागि ह्वाट्सएप, भाइवर र म्यासेन्जर निकै लोकप्रिय छन् । यसै गरी एकआपसमा भेटघाट, कुराकानी, सूचना र सिकाइ आदानप्रदान गर्न गुगलमिट, जुम, स्काइप जस्ता माध्यमहरूको प्रयोग गर्न सकिन्छ ।
  • सम्भव भएसम्म वा स्रोत र समयले भ्याएसम्म समय समयमा प्रत्यक्ष भेटघाटबाट पनि सञ्जालका सदस्यहरूबिचमा सूचना, सिकाइ, ज्ञान र अनुभवहरू साझा गर्न सकिन्छ ।