समावेशी खेल

प्रारम्भिक बालविकासमा खेलको  ठुलो महत्त्व हुन्छ । खेलले बालबालिकाहरूलाई अतिरिक्त मनोरञ्जन प्रदान गर्ने  मात्र नभएर यसले बालबालिकाहरूको शारीरिक, बौद्धिक र सामाजिक सिपको समेत विकास गर्ने गर्छ । यसै गरी सिकाइलाई दिगो र प्रभावकारी बनाउन समेत खेलको प्रयोग गरिन्छ । तर धेरैजसो अवस्थामा अपाङ्गता भएका बालबालिकाहरूलाई खेलमा सहभागी गराइँदैन वा गराइहाले पनि दर्शकका रूपमा मात्र सहभागी गराइने चलन छ। यसको एउटा मुख्य कारण भनेको बालविकास शिक्षकहरू समावेशी खेल वा खेल अनुकूलका विषयमा अनविज्ञ हुनु हो । त्यसैले यस सत्रमा हामी समावेशी खेलको परिचय, महत्व, उदाहरण तथा कुनै पनि खेललाई समावेशी बनाउनका लागि विश्वव्यापी रूपमा प्रयोग हुने गरेको STEP विधिका बारेमा छलफल गर्ने छौँ ।