प्रारम्भ

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणसम्बन्धी अनलाइन सिकाइ सामग्रीको  यो पहिलो भागमा यहाँहरू सबैलाई स्वागत छ । यस भागमा हामी प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणसम्बन्धी आधारभूत विषयवस्तुहरूबारे स्पष्ट हुने छौँ।  यो अनलाइन सिकाइ सामग्री बालविकास शिक्षकहरूले आफ्नो कक्षामा हुने अपाङ्गता भएका र नभएका सबै बालबालिकाहरूलाई प्रभावकारी ढङ्गबाट सिकाइ सहजीकरण गर्न सकून् भनेर तयार गरिएको हो । यस सामग्रीको अन्त्यसम्म यहाँले अपाङ्गता समावेशी शिक्षा र प्रारम्भिक बालविकास तथा शिक्षाको बारेमा आधारभूत जानकारी पाउनुका साथै विभिन्न किसिमका अपाङ्गता र सिकाइमा सीमितता भएका बालबालिकाका लागि सिकाइ सहजीकरणका रणनीतिहरूका बारेमा पनि ज्ञान तथा सिप हासिल गर्नुहुने छ ।

यस अनलाइन सिकाइ सामग्रीमा रहेका विभिन्न सत्रहरू बालविकास शिक्षाका विज्ञहरूले सहजीकरण गर्नुभएको छ । हरेक सत्रमा सहजकर्ताले प्रस्तुतीकरणको भिडियो, थप स्रोतका रूपमा अध्ययन सामग्री तथा प्रश्नोत्तरजस्ता अन्तरक्रियात्मक विधिको प्रयोग गरी सिकाइ सहजीकरण गर्नुभएको पाउनुहुने छ । यो सामग्री अनलाइनमा भएकाले यहाँले आफूलाई जान्न मन लागेका विषयवस्तु दोहोर्याई-तेहेर्याई पनि हेर्न सक्नुहुन्छ ।

यी सिकाइ सामग्रीले यहाँहरूलाई आफ्नो कक्षामा रहेका अपाङ्गता भएका तथा नभएका  सबै बालबालिकाहरूलाई समान रूपमा सिकाइका क्रियाकलापहरूमा सहभागी गराउन आवश्यक ज्ञान र सिप प्रदान गर्ने छ भन्ने हाम्रो विश्वास छ । यहाँहरू सबै जनालाई धेरै शुभकामना छ । अब पहिलो सत्र सुरु गरौँ है ।

यस अनलाइन सिकाइ सामग्रीका उद्देश्यहरू


बालविकास केन्द्रमा हुने सिकाइ गतिविधिहरूमा अपाङ्गता भएका बालबालिकाको समतामूलक पहुँच र सहभागिता सुनिश्चित गर्दै अपाङ्गता समावेशी सिकाइ सिर्जना गर्ने ज्ञान तथा सीपको विकासमा टेवा पुर्याउने ।


अपाङ्गता भएका र नभएका सबै बालबालिकाहरूलाई प्रभावकारी ढङ्गबाट सिकाइ सहजीकरणका लागि बालविकास शिक्षकहरूलाई मार्गदर्शन प्रदान गर्ने ।

समावेशी शिक्षाको अवधारणा, अपाङ्गतासम्बन्धी प्रचलित नीति,कानुन तथा कार्यक्रमहरु,अपाङ्गता भएका बालबालिकाका लागि शिक्षामा अवरोध, सहजीकरणका उपाय र सरोकारवालाहरूको भूमिका तथा सहकार्यका बारेमा परिचित गराउने।

साङ्केतिक भाषाका भिडियो

An alternative communication method that accommodates learning styles and abilities.

यस अनलाइन सिकाइ सामग्रीमा साङ्केतिक भाषामा समेत भिडियोहरू उपलब्ध छन् । यदि तपाईँलाई साङ्केतिक भाषासहितको भिडियो चाहिने भए भिडियो रहेको पेजमा सो विकल्प छनोट गर्न सक्नुहुने छ ।