समापन
प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण सिकाइ सामग्रीको पहिलो भागका सबै सत्रहरू सफलतापूर्वक सम्पन्न गरेर यहाँसम्म आइपुग्नुभएकोमा यहाँलाई धेरै बधाई छ । हामीले यस पहिलो भागमा प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणसम्बन्धी आधारभूत विषयवस्तुहरू बारेमा सिक्ने अवसर पायौँ । यसै गरी यहाँले अपाङ्गता, समावेशी शिक्षा र प्रारम्भिक बालविकास तथा शिक्षाको बारेमा आधारभूत जानकारी पाउनुका साथै विभिन्न किसिमका अपाङ्गता र सिकाइमा सीमितता भएका बालबालिकालाई सिकाइ सहजीकरण र खेलमा समावेश गराउने रणनीतिहरू बारे पनि जानकारी प्राप्त गर्नुभयो ।
यो अनलाइन सिकाइ सामग्री बालविकास शिक्षकहरूले आफ्नो कक्षामा हुने अपाङ्गता भएका र नभएका सबै बालबालिकाहरूलाई प्रभावकारी ढङ्गबाट सिकाइ सहजीकरण गर्न सकून् भनेर तयार गरिएको हो । त्यसकारण यहाँ सिकेको सिप र ज्ञानलाई यहाँहरू सबैले आफ्नो कक्षाकोठामा लागू गरेर अपाङ्गता भएकासहित सबै बालबालिकाहरूलाई समावेशी ढङ्गले सिकाइ तथा अन्य खेल गतिविधिहरूमा समावेश गराउनुहुने छ भन्ने पनि हामीले विश्वास लिएका छौँ ।
यसका साथै प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणको विषयमा नै आफ्नो सिकाइलाई जारी राख्न चाहनुहुन्छ भने यसै पोर्टलमा यस सामग्रीको भाग २ समेत उपलब्ध रहेको जानकारी गराउन चाहन्छौँ । दोस्रो भागमा अपाङ्गता भएका बालबालिकाकेन्द्रित विशिष्टीकृत विषयवस्तुहरू समावेश गरिएका छन् । ती विषयवस्तुले समावेशीकरणको विषयमा यहाँलाई थप सिप र ज्ञान प्रदान गर्ने छन् ।
त्यसै गरी यही वेबसाइटमा बालविकास शिक्षकहरूका लागि भनेर हामीले क्रियाकलापहरूको सँगालो, विभिन्न खेललाई समावेशी रूपमा सञ्चालन गर्न सिकाउने भिडियोहरू तथा अन्य महत्त्वपूर्ण स्रोत सामग्रीहरू पनि राखेका छौँ । ती सामग्रीहरू पनि प्रयोग गरेर आफ्नो कक्षामा बालबालिकाको सिकाइलाई थप प्रभावकारी बनाउनुहुन हाम्रो अनुरोध छ ।