शारीरिक अपाङ्गता: स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको बनावट एवम् सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या, जस्तै- बाल पक्षघात (पोलियो), शारीरिक अङ्गविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरूदण्डसम्बन्धी स्थायी समस्या, क्लवफिट (पैँताला फर्केको), रिकेट्स (हड्डीसम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता) तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेरबमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको अवस्था ।
दृष्टिसम्बन्धी अपाङ्गताः दृष्टिसम्बन्धी देहायको समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने अवस्था ।
(क) दृष्टिविहीनता: औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुबै आँखाले हातको औँला दश फिटको दुरीबाट छुट्टाउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३/६०) मा पढ्न नसक्ने अवस्था।
(ख) न्यून दृष्टियुक्तः औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि बीस फिटको दूरीबाट हातको औंला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६/१८) मा पढ्न नसक्ने अवस्था ।
(ग) पूर्ण दृष्टिविहीन: पूर्ण रुपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने अवस्था ।
सुनाइसम्बन्धी अपाङ्गताः सुनाइका अङ्गको बनावट एवम् स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने अवस्था ।
(क) बहिराः असी डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने अवस्था ।
(ख) सुस्तश्रवणः सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसट्ठीदेखि असी डेसिबलसम्मको ध्वनि सुन्न सक्ने अवस्था ।
श्रवण दृष्टिविहीन अपाङ्गताः सुनाइसम्बन्धी र दृष्टिसम्बन्धी दुबै अपाङ्गता भएका वा दुईओटा इन्द्रियसम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको अवस्था।
स्वर र बोलाइसम्बन्धी अपाङ्गताः स्वर र बोलाइसम्बन्धी अङ्गमा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतार चढावमा कठिनाइ, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहोर्याउने अवस्था ।
बौद्धिक अपाङ्गताः उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरण सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्था, जस्तै- डाउन्स सिन्ड्रोम ।
मानसिक वा मनोसामाजिक अपाङ्गताः मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या । सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरण शक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्यसम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थितिअनुसार व्यवहार गर्न समस्या हुने अवस्था ।
आनुवंशिक रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गताः आनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्था ।
अटिजमसम्बन्धी अपाङ्गताः जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या, जस्तै- सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुनु तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्याइरहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्नु ।
बहुअपाङ्गता: एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गताको समस्या भएको अवस्था, जस्तै- मस्तिष्क पक्षघात ।