सबै बालबालिकामैत्री खेल

बालबालिकाको वृद्धि तथा विकासका लागि खेल निकै महत्वपूर्ण हुन्छ । खेल खेल्न पाउनु सम्पूर्ण बालबालिकाको अधिकार हो । अपाङ्गता भएका र नभएका सबै बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि खेल जरुरी छ।

अनुकूलित खेल

  • सबै बालबालिकालाई लक्षित गरेर, उनीहरूको सामाजिक, संवेगात्मक र संज्ञानात्मक विकासलाई बढवा दिनका लागि खेलाइने खेललाई अनुकूलित खेल भनिन्छ।
  • अपाङ्गता भएका बालबालिकालाई पनि खेल्ने अवसर दिनुपर्छ। जसका लागि शिक्षकहरूले खेललाई सरलीकरण गर्ने, नियम परिवर्तन गर्ने, सामग्री निर्माण गर्ने इत्यादि गर्नुपर्छ।  
  • सिकाइ, व्यवहार वा शारीरिक चुनौतीहरू भएका बालबालिकाका लागि संरचित पाठ्यक्रमको विकल्पको रूपमा अनुकूलन खेल सुरु भयो।

अनुकूलित खेलको महत्व

अपाङ्गता भएका र नभएका सबै बालबालिकाहरूमा सामाजिक, भावनात्मक र संज्ञानात्मक विकासलाई बढवा दिनका लागि समावेशी खेल र अन्य खेलहरू महत्त्वपूर्ण हुन्छन् । प्रारम्भिक बालविकास केन्द्रमा बालबालिकाको विविध आवश्यकता र क्षमताहरूलाई समायोजन गर्ने सकारात्मक र समावेशी खेल वातावरण सिर्जना गर्न महत्त्वपूर्ण हुन्छ ।

सामाजिक र भावनात्मक विकास

समावेशी खेलका साथै अन्य खेलहरूले बालबालिकालाई एक अर्कासँग अन्तरक्रिया गर्ने, मित्रता बढाउने, सहयोग र सहानुभूती जनाउने जस्ता महत्त्वपूर्ण सामाजिक सिपहरू सिक्ने अवसरहरू प्रदान गरी सामाजिक र भावनात्मक विकासलाई बढवा दिन्छ ।

संज्ञानात्मक विकास

समावेशी खेलका साथै अन्य खेलहरूले बालबालिकालाई समस्या समाधान गर्ने सिपहरू, कल्पना गर्ने र कल्पनालाई साकार गर्न खोज्ने सिपको विकास गर्छ। सिर्जनात्मकता विकास गर्ने अवसरहरू प्रदान गरेर संज्ञानात्मक विकासलाई प्रोत्साहन गर्छ ।

समावेशीकरणमा सहयोग

समावेशी खेलहरूले अपाङ्गता भएका बालबालिकाहरूलाई खेलमा पूर्ण रूपमा सहभागी हुने अवसरहरू प्रदान गरेर समावेशीकरणलाई समर्थन गर्दछ ।

अनुकूलित खेलका उदाहरणहरू

इन्द्रिय परिचालन खेल

इन्द्रिय परिचालनका खेल गतिविधिहरू, जस्तै- पानी खेल, बालुवा खेल आदि अपाङ्गता भएका  बालबालिकाका लागि  पहुँचयोग्य र आकर्षक हुन्छन् ।

सामूहिक खेल

सामूहिक खेलहरू, जस्तै- समूहमा खेलिने निर्माणात्मक क्रियाकलाप, टोली कार्य आदिले सामाजिक सिप अभिवृद्धि गर्नमा सहयोग गर्छ ।

अनुकूलित शारीरिक सञ्चालन खेल

शारीरिक सञ्चालन खेलहरू, जस्तै- ह्विलचेयर बास्केटबल वा अन्य अनुकूलित क्रियाकलापहरूमा अपाङ्गता भएका बालबालिकाहरूलाई समावेश गराउन सकिन्छ ।

कल्पनाशील खेल

कल्पनाशील खेल क्रियाकलापहरु, जस्तै- पहिरन प्रदर्शन, भूमिका निर्वाह आदि गराउनाले बालबालिकामा रचनात्मकता र सामाजिक अन्तरक्रियालाई अभिवृद्धि गर्छ ।

स्थानीय सामग्रीहरु सङ्कलन गरी खेल खेल्दै बालबालिकाहरू