सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूका लागि वैकल्पिक प्रभावकारी सञ्चार पद्धतिको प्रयोग गरेर कक्षाकोठामा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न सकिन्छ ।
यस विधिले अपाङ्गता भएका बालबालिकासहित अन्य सबै बालबालिकाहरूलाई कक्षाकोठामा पूर्ण सहभागिता र प्रभावकारी सिकाइ वातावरण निर्माणमा सहयोग गर्दछ। यसमा चित्रहरू आदानप्रदान, सञ्चार बोर्ड, साङ्केतिक भाषा तथा शब्द निर्माण यन्त्र जस्ता विधिहरूद्वारा बालबालिकालाई सिकाइ सहजीकरण गरिन्छ ।
वैकल्पिक सञ्चार विधिको मुख्य उद्देश्य सञ्चारसम्बन्धी कठिनाइ भएका बालबालिकालाई आफ्नो इच्छा, आवश्यकताअनुसार प्रभावकारी तरिकाले विचार व्यक्त गर्न सहयोग गर्नु हो।
यस विधिले स्वरबोलाइसम्बन्धी अपाङ्गता, अटिजम प्रभावित वा अन्य सञ्चारसम्बन्धी कठिनाइ भएकै कारणले सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्ने बालबालिकालाई प्रभावकारी सहभागिताको वातावरण निर्माणका लागि सहयोगी हुन्छ ।
यस विधिले गर्दा बालबालिकाले सिकाइ उपलब्धिका लागि सक्रिय सहभागिता, प्रभावकारी सञ्चारसहित सामाजिक तथा संवेगात्मक विकास लगायत बौद्धिक सिप हासिल गर्दछन् ।
यसका साथै साथीहरू तथा हेरचाहकर्तासँग असल सम्बन्ध स्थापना गर्न पनि यस विधिले सहयोग गर्छ ।
बालविकास केन्द्रमा सबै बालबालिकाहरूलाई सक्रिय सहभागिता गराउन यो विधि निकै प्रभावकारी हुन्छ ।
साना बालबालिकाहरूले आफ्नो अनुभवबाट सिक्छन्। स्पष्ट रुपले आँखा देख्ने बालबालिकालाई दृष्टिविहीन बालबालिकाहरूले देख्न नपाउँदा कस्तो महसुस हुन्छ होला भन्नेअनुभव गर्न दिने गतिविधिहरू गर्नु उनीहरूका लागि एउटा रोचक सिकाइ अनुभव हुन सक्छ।