सिर्जनात्मक चाल

शरीरका विभिन्न भित्री तथा बाहिरी अङ्गहरू, जस्तै- हात, खुट्टा, आँखा, नाक, मस्तिष्क आदिको प्रयोग गरी बालबालिकालाई विभिन्न गतिविधिमा संलग्न गराउनु लाई सिर्जनात्मक चाल भनिन्छ। यस प्रकारको चालले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकास गर्नुका साथै उनीहरुले आफैँ कार्यहरु गर्न सक्ने क्षमता र ती कार्यहरूमा सक्रिय सहभागिता जनाउन सक्ने क्षमतामा धेरै ठुलो भूमिका खेलेको हुन्छ।

शारीरिक विकास

बालबालिकालाई शारीरिक गतिविधिहरुमा संलग्न गराउँदा उनीहरुका शारीरिक अङ्गहरूको विकासमा टेवा पुग्छ। विभिन्न प्रकारका खेल (कक्षाकोठाभित्र खेलिने खेल, कक्षाकोठाबाहिर खेलिने विभिन्न इन्द्रियमैत्री खेल) मार्फत आफूलाई गतिशील गराउँदा उनीहरूको शरीरको चालले सिर्जनात्मक विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सामाजिक विकास

कक्षाकोठा वा अन्य कुनै पनि ठाउँमा विभिन्न क्रियाकलापहरू गर्दा बालबालिकाहरूमा साथीहरूसँग मिलेर खेल्न पर्ने रहेछ, साथीहरूलाई सहयोग गर्न पर्ने रहेछ भन्ने भावनाको विकास हुन्छ । यस्ता गतिविधिहरूले सबैसँग घुलमिल हुन प्रोत्साहन गर्नुका साथै उनीहरूको सामाजिक विकासमा सहयोग पुर्याउँछ ।

आत्मनिर्भरता

बालबालिकाहरुलाई विभिन्न गतिविधिमा सँगसँगै संलग्न गराउँदा र शरीरलाई गतिशील गराउँदा उनीहरुमा आत्मनिर्भरता बढ्छ । उदाहरणका लागि दृष्टिविहीन बालबालिकाले साथीको सहयोगबाट नाच्न, लेख्न वा पढ्न, हिँड्न सक्दा उनीहरू आफू आत्मनिर्भर भएको महसुस गर्छन् । उनीहरुमा आफू पनि अन्य बालबालिकासरह यस्ता क्रियाकलाप गर्न सक्छु भन्ने आत्मविश्वासको विकास हुन्छ।

सक्रिय सहभागिता

सिर्जनात्मक चालले बालबालिकालाई सबै प्रकारको गतिविधिमा संलग्न गराउँदा उनीहरुले सक्रिय सहभागिताको महसुस गर्छन्, जस्तै-दृष्टिविहीन बालबालिकालाई अन्य बालबालिकाको सहयोगमा हात समाएर घेरामा हिँड्न लगाउने, श्रवण क्षमता कम भएका अर्थात् कम सुनाइ भएका बालबालिकालाई हातको इसारामार्फत खेलाउन, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बोर्ड तथा चित्रहरू प्रयोगमार्फत सक्रिय सहभागिता गराउन सकिन्छ ।

ससाना ढुङ्गाका टुक्राहरू प्रयोग गर्दै सिकाइमा व्यस्त बालबालिकाहरू