विभिन्न प्रकारका कार्यगत सीमितता भएका व्यक्तिहरूलाई मर्यादित ढङ्गले सम्बोधन गर्नका लागि शब्दावलीहरू निम्नअनुसार रहेका छन् :
कार्यगत सीमितताहरू (Functional Limitations) | सम्बोधन गर्ने शब्द |
---|---|
हात, खुट्टा, ढाड, हाड, जोर्नी, मांसपेशी, नसा, लगायत अन्य अङ्ग वा प्रणालीहरूमा आंशिक वा पूर्ण रूपमा क्षति पुगी अङ्गहरू चलाउन, हिँडडुल गर्न, हात खुट्टा चलाउन समस्या वा कठिनाइ हुने । उमेर पुगिसकेको तर ३ फिटभन्दा सानो (होचा पुड्का) व्यक्ति । | शारीरिक अपाङ्गता भएका व्यक्ति |
चस्मा प्रयोग गर्दा पनि वस्तुको रङ, रूप, आकार, आकृति वा प्रकार छुट्याउन नसक्ने । दुबै आँखाले पूरै देख्न नसक्ने । हिँडडुल गर्न मानव पथप्रदर्शक वा सेतो छडीको प्रयोग गर्ने । | दृष्टिविहीन |
चस्मा प्रयोग गरेर वा नगरे पनि नजिकबाट ठुलो वस्तुको आकार र रङ छुट्याउन सक्ने, सानो वस्तु देख्न वा साना अक्षरहरू पढ्न अवरोध हुने । ठूला वस्तु वा अक्षर आँखाको नजिक लगेर पढ्न सक्ने, सेतो छडी नलिइकन पनि सामान्य हिँडडुल गर्न सक्ने । २० फिटभन्दा कमको दुरीबाट हातको औँला छुट्याउन सक्ने । | न्यून दृष्टियुक्त व्यक्ति |
पूरै सुन्न र बोल्न नसक्ने, आवाज केही मात्रामा आउने भए पनि त्यो अस्पष्ट र नबुझिने हुने, बोल्न सक्ने तर सुन्न चाहिँ पुरै नसक्ने, श्रवण यन्त्र लगाएर पनि सुन्न नसक्ने, सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने । | बहिरा |
कान कम सुन्ने वा नजिकबाट आएको ठुलो आवाज सुन्न सक्ने, स्पष्ट बोल्न सक्ने तर सानो वा सामान्य स्वरमा बोलेको सुन्न नसक्ने, श्रवण यन्त्र लगाएर सुन्न सक्ने व्यक्ति । | सुस्त श्रवण |
आँखा नदेख्ने र कान नसुन्ने व्यक्ति । | श्रवण दृष्टिविहीन |
विभिन्न कारणले मानसिक अवस्थामा विचलन आई दैनिक जीवनका क्रियाकलापहरू र जीवनका विभिन्न पक्षहरूमा सहभागी हुन अवरोधहरूको सामना गर्नुपर्ने । | मनोसामाजिक अपाङ्गता भएका व्यक्ति |
सुन्न सक्ने तर स्वर र बोलीमा मात्र समस्या भएको, बोल्न वा शब्द उच्चारण गर्नमा कठिनाइ हुने वा अक्षर वा शब्द दोहोर्याएर वा भकभकाएर बोल्ने, ओठ वा तालु फाटेर बोल्न अवरोध हुने, विभिन्न कारणले कृत्रिम स्वर यन्त्र प्रयोग गर्नुपर्ने । | स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति |
उमेरअनुसार सिक्नुपर्ने कुराहरू सिक्न वा गर्नुपर्ने क्रियाकलापहरू गर्न नसक्ने, उमेर बढ्दै गए पनि व्यवहार सानै बच्चाको जस्तो रहने, सिक्न सके पनि सिकाइमा ढिलाइ हुने र एउटा निश्चित समयपछि सिकाइ अघि बढ्न नसक्ने व्यक्ति । | बौद्धिक अपाङ्गता भएका व्यक्ति |
आनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति । | आनुवंशीय रक्तस्राव (हेमोफिलिया) |
सामान्य सञ्चारमा कठिनाइ हुने, सामाजिक व्यवहार गर्न कठिनाइ हुने, एउटै क्रियाकलाप दोहोर्याइरहने, दृश्य र तस्बिरहरूको माध्यमबाट सिक्न सक्ने वा सञ्चार गर्ने, एक्लै बस्न मन पराउने । | अटिजम |
एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गताको समस्या भएको व्यक्ति, जस्तै- मस्तिष्क पक्षघात आदि । | बहुअपाङ्गता |
माथि उल्लेख गरिएका व्यक्तिहरूलाई समग्रमा सम्बोधन गर्दा प्रयोग हुने शब्द (साझा शब्द) | अपाङ्गता भएका व्यक्ति |
माथि उल्लेख गरिएका विविध प्रकृतिका अपाङ्गताको अवस्थामा नरहेका व्यक्तिलाई सम्बोधन गर्न प्रयोग गरिने शब्द | अपाङ्गता नभएका व्यक्ति |