कक्षाकोठामा सञ्चालन हुने हरेक क्रियाकलापलाई स्पष्ट निर्देशन दिने तरिकालाई प्रत्यक्ष निर्देशन भनिन्छ।
यो शिक्षणको एउटा तरिका हो जसमा शिक्षकले प्रत्येक बालबालिकाको विविध सिकाइ आवश्यकताअनुरुप कक्षाकोठामा गरिने सम्पूर्ण गतिविधिलाई स्पष्ट निर्देशन दिने गर्दछन्।
हेरेर, छोएर, चाखेर, सुनेर, सुँघेर तथा अन्य कुनै इन्द्रियको प्रयोग गरेर एउटै विषयलाई सजिलो तरिकाले सिकाइ गर्न सकिन्छ जसले गर्दा सिकाइ दिगो र प्रभावकारी हुन्छ। प्रत्यक्ष निर्देशनात्मक शिक्षण विधिमा बहुइन्द्रियजन्य सिकाइ सामग्रीले अर्थपूर्ण सिकाइको लागि महत्वपूर्ण भूमिका खेल्दछन्।
निर्देशनहरु स्पष्ट दिने, दोहोर्याएर बुझाउने, पुर्नबल प्रदान गर्दै सिकाउँदा बालबालिकाले सजिलै बुझ्दछन् र आफ्नो क्षमता तथा आत्मबल अभिवृद्धि गर्दछन्। उदाहरणका लागि स्याउको अवधारणा सिकाउँदा स्याउको चित्र देखाउने, साच्चिकैको स्याउ ल्याउने, काटेर खान दिने, स्याउको कथा भन्ने, गित सुनाउने आदि गर्नु बढी प्रभावकारी हुन्छ।यसरी एउटा विषयलाई फरक क्रियाकलाप गर्दै शिक्षण गर्दा अवधारणा प्रस्ट हुन्छ।
बालबालिकाको सिकाइमा थप समय, सामग्री र उपकरण जस्ता सुविधाले अपाङ्गता भएका र नभएका सबै बालबालिकाको सिकाइ प्रभावकारी बनाउन सहयोग गर्छ। प्रत्येक बालबालिकाको सिकाइलाई सहज हुने थप समय र सामग्री उपलब्ध गराउँदा विशेष गरी अपाङ्गता भएका बालबालिकाको पहुँच र सहभागितामा सहयोग गर्नुको साथै प्रत्येक बालबालिकाको सबै आवश्यकताहरू पूरा गर्न सहयोग गर्दछ ।
बालबालिकासँग निरन्तर छलफल गर्ने, अन्तरक्रिया गर्ने, सामूहिक क्रियाकलाप गराउने गर्दा सबै बालबालिकाले सक्रिय सहभागिताको अवसर पाउँछन्। उनीहरुलाई प्रश्न सोध्ने, अनुभव बताउन लगाउने, विचार राख्ने अवसर दिने तथा उनीहरुसँग सहकार्य गर्नाले बालबालिकालाई समावेशी तथा सिकाइका लागि व्यस्त बनाइराख्ने वातावरण निर्माण हुन्छ ।