अपाङ्गता परिचय पत्र र वितरण प्रक्रिया

अपाङ्गता भएका व्यक्तिहरूलाई गम्भीरताका आधारमा नै ४ ओटा विभिन्न रङका अपाङ्गता परिचय पत्रसमेत प्रदान गरिन्छ । ती परिचय पत्र प्राप्त गर्न के के कागजातहरू आवश्यक हुन्छन् र त्यसको प्रक्रिया कस्तो हुन्छ भनेर हामी यहाँ जानकारी हासिल गर्ने छौँ ।

  • पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई रातो रङको अपाङ्गता परिचय पत्र प्रदान गरिन्छ । अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई निलो रङको अपाङ्गता परिचय पत्र प्रदान गरिन्छ । मध्यम अपाङ्गता भएका व्यक्तिलाई पहेँलो रङको अपाङ्गता परिचय पत्र प्रदान गरिन्छ ।सामान्य अपाङ्गता भएका व्यक्तिलाई सेतो रङको अपाङ्गता परिचय पत्र प्रदान गरिन्छ ।
  • अपाङ्गता परिचय पत्र प्राप्त गर्नका लागि स्थानीय तहले तोकेको ढाँचाअनुसार निवेदन पेस गर्नुपर्छ । निवेदनका साथमा नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज वा अटो साइजको ३ प्रति फोटो, अपाङ्गता देखिने १ प्रति फोटो, वडा कार्यालयले दिएको सिफारिस पत्र पेस गर्नुपर्छ ।
  • नाबालिग अपाङ्गता भएका व्यक्तिहरूको हकमा अपाङ्गता परिचय पत्र लिनका लागि निजको जन्म दर्ता वा अभिभावकको नागरिकताको प्रतिलिपि चाहिन्छ ।
  • नदेखिने अपाङ्गताको हकमा भने सम्बन्धित स्वास्थ्यकर्मीले जाँच गरी दिएको प्रमाण पत्र समावेश गर्नुपर्छ ।
  • अपाङ्गता परिचय पत्र अस्थायी बसोबास भएको ठाउँबाट समेत लिन मिल्ने व्यवस्था रहेको छ । यसका लागि स्थायी ठेगाना भएको स्थानीय तहबाट अपाङ्गता परिचय पत्र नलिएको भनी सिफारिस ल्याउनुपर्छ । यसको अलावा बसाइँसराइको प्रमाण पत्र, जग्गा धनी प्रमाण पत्र, शैक्षिक योग्यताका प्रमाण पत्र तथा मतदान परिचय पत्र पनि पेस गर्न सकिने व्यवस्था रहेको छ ।
  • जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूले गरेको सिफारिसका आधारमा पनि अपाङ्गता परिचय पत्र लिन सकिने व्यवस्था रहेको छ ।
  • अपाङ्गता परिचय पत्र लिनका लागि उल्लेख गरिएका कागजातहरू पूरा गरी वडा कार्यालयहरुबाट सिफारिस लिएर आफ्नो गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको महिला बालबालिका शाखामा कागजातहरू पेस गरेपछि अपाङ्गता समन्वय समितिको बैठक बसेर अपाङ्गता परिचय पत्र उपलब्ध गराउँछ ।