विविधता र समावेशीकरण

विविधता र समावेशीकरण

प्रारम्भिक बालविकास तथा शिक्षा (ECED) मा समावेशीकरण र विविधता महत्वपूर्ण हुन्छ किनभने यसले सबै बालबालिकालाई उनीहरूको पृष्ठभूमि र परिस्थिति जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच र सिक्ने तथा हुर्कने अवसरहरू समान रुपमा प्राप्त गर्नुपर्ने कुराको सुनिश्चिततामा मद्दत गर्दछ ।

प्रत्येक बालबालिकालाई बिना कुनै भेदभाव क्रियाकलापहरुमा समावेश गराउनु र उनीहरूले आफ्ना अन्य साथीहरू र शिक्षकहरूद्वारा सम्मानित व्यवहार महसुस गर्ने कुराको सुनिश्चितता नै समावेशिता हो । यसले गर्दा बालबालिकामा सामाजिक सद्भाव बढाउन, सामाजिक र सहयोगी भाबनाको विकास गर्न र भेदभावलाई कम गर्न मद्दत गर्दछ ।

बालविकास शिक्षकले बालबालिकालाई मानिस तथा समाजमा हुने विविधताको बारेमा सिकाएर उनीहरूलाई सामाजिक सीपहरू र अरूप्रति सम्मान गर्ने भावना तथा बानीको विकास गर्न मद्दत गर्न सक्दछन्। यसले गर्दा समावेशी वातावरण निर्माण गर्न सकिन्छ ।

मनन गर्नुपर्ने महत्त्वपूर्ण तथ्यहरू:

बालविकास शिक्षकको रूपमा तपाईँले आफ्नो कक्षाकोठामा समावेशीकरण र विविधता प्रवर्द्धन गर्दा विचार गर्नुगर्ने धेरै कुराहरू छन् । तीमध्ये केही मुख्य कुराहरुलाई निम्नानुसार उल्लेख गरिएका छन् :

सांस्कृतिक रूपमा विविध पुस्तकहरू, कला तथा सङ्गीत र अन्य सामग्रीहरू तपाईँको कक्षाकोठामा उपलब्ध गराउनुहोस् । यसले बालबालिकालाई उनीहरूको आफ्नै सांस्कृतिक परम्परा र अनुभवहरू साटासाट गर्न प्रोत्साहित गर्दछ ।

हरेक बालबालिकाको सिकाइ तरिका फरक फरक हुन्छ भन्ने तथ्यलाई शिक्षकले मनन गर्नुपर्छ । त्यसैले विभिन्न सिकाइ आवश्यकता भएका बालबालिकाको आवश्यकता पूरा गर्न तपाईँको शिक्षण रणनीतिहरू समयानुकुल र बालबालिकाको स्तर अनुकूलन हुनु आवश्यक छ ।

समावेशीकरणका लागि स्वागतयोग्य र समावेशी कक्षाकोठा संस्कृति सिर्जना गर्नु आवश्यक छ । यसले सकारात्मक व्यवहारलाई बढवा दिन बालबालिकालाई एक अर्काको भिन्नतालाई सम्मान गर्न सिकाउने, समावेशी भाषा र व्यवहारको अभ्यास गराउने कार्य समावेश गर्न सकिन्छ ।

समावेशीकरण र विविधतालाई वृद्धि गर्न परिवार र समुदायहरूसँग बलियो सम्बन्ध निर्माण गर्नु महत्त्वपूर्ण हुन्छ । यसले परिवारको बारेमा जान्न र तिनीहरूको सांस्कृतिक परम्परा र मूल्यहरूबारे सिक्नुका साथै सामुदायिक संस्थाहरूसँग संलग्न हुन सहयोग गर्दछ ।