प्रारम्भिक पहिचान

प्रारम्भिक पहिचान

विद्यालयमा भर्ना भएका बालबालिकाहरूमा सुरुमै प्रकार्यगत ढङ्गबाट शारीरिक कार्यगत सीमितता, बौद्धिक, दृष्टि, सुनाइ तथा अन्य प्रकारका कठिनाइ वा सीमितताहरू पत्ता लगाउनुलाई नै प्रारम्भिक पहिचान भनिन्छ।

प्रारम्भिक परीक्षण टोलीले पहिचान गर्न नसकेको कार्यगत सीमितता वा अपाङ्‌गताको हकमा थप स्वास्थ्य परीक्षण एवम् अन्य सेवासुविधाको लागि प्रकार्यगत रूपमा रेफर गर्ने गरिन्छ।

पूर्ण र अति अशक्त अपाङ्‌गता भएका बालबालिकाहरू सजिलै पहिचान हुन सक्छन् भने कार्यगत सीमितता भएका र विस्तारै अपाङ्‌गतातर्फ जाँदै गरेका तथा तुरुन्तै उपचारात्मक हस्तक्षेप गर्नुपर्ने बालबालिकाहरूको चिनारी वा पहिचान गर्न कठिन हुन्छ।

प्रारम्भिक पहिचानको महत्व

  • विद्यालयमा बालबालिकाहरूको वास्तविक तथ्याङ्‌कको अभावका कारणले बालबालिकाहरूमा कुन हदसम्मको कार्यगत सीमितता वा अपाङ्‌गता छ भन्ने कुरा यकिन गर्न र सोहीअनुसार आवश्यक शैक्षिक सहयोग एवम् अन्य सहायताहरू निर्धारण एवम् व्यवस्थापन गर्न पनि कठिन परेको छ।
  • बालबालिकाहरूमा हुने कार्यगत सीमितताहरूको प्रभावकारी प्रारम्भिक पहिचान गर्नु नै उनीहरूमा हुन सक्ने कार्यगत सीमितता पत्ता लगाउनु हो र सोहीअनुसार आवश्यक शैक्षिक एवम् शैक्षणिक सहायता प्रदान गरी उनीहरूको पठन सिपको विकास गर्नु हो।
  • सामान्य कार्यगत सीमितताहरू पहिचान र समयमा नै उपचारात्मक हस्तक्षेप गरिएन भने बालबालिकाको सिकाइको परिणाममा नै असर पुग्न जान्छ। त्यसैले प्रारम्भिक पहिचान गरियो भने बालबालिकामा पछि गएर हुन सक्ने गम्भीर समस्यालाई रोकथाम गर्न वा अपाङ्‌गता हुनबाट समेत बचाउन सकिन्छ।

वासिङ्टन ग्रुप प्रश्‍नावली

अपाङ्‌गता वा कार्यगत सीमितता भएका व्यक्तिहरूको तथ्याङ्‌क राख्नका लागि Unicef  र The Washington Group (WG) ले Child Functioning Module लाई जनगणना तथा सर्वेक्षणका लागि तयार गरेको छ। उक्त मोड्युलले २ देखि १७ वर्षसम्मका बालबालिका तथा वयस्कलाई समेटी उनीहरूको कार्यगत सीमिततालाई दृष्टि, सुनाइ, गतिशीलता, स्वयम् स्याहार (स्वावलम्बन), सञ्चार, बुझाइ, शारीरिक समन्वय, सिकाइ, स्मरण शक्ति, खेलकुद, व्यवहार नियन्त्रण, ध्यान तथा एकाग्रता साथै सम्बन्धहरू तथा परिवर्तन सामना गर्न सक्ने क्षमताका आधारमा मूल्याङ्कन गरेको छ।