विकासवादी मनोविज्ञान र अन्तर्राष्ट्रिय अभ्यास अनुसार गर्भधारणदेखि आठ वर्षसम्मको अवधिलाई प्रारम्भिक बालविकासको उमेर भनिन्छ । यद्यपि नेपालमा प्रारम्भिक बालविकासका लागि नीति तथा कार्यक्रमहरू परम्परागत रूपमा पाँच वर्षसम्मका बालबालिकामा मात्र केन्द्रित देखिन्छन् । तर नेपाल सरकार राष्ट्रिय योजना आयोगले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७- २०८८ ले प्रारम्भिक बालविकासलाई गर्भावस्थादेखि आठ वर्षसम्मको अवधि भनी स्पष्ट रूपमा परिभाषित गरेको छ र अव बन्ने नीति र कार्यक्रमहरू यसैबाट निर्देशित हुन थालेका छन् । गर्भावस्था र जन्मपश्चातका केही वर्ष बालबालिकाको विकास र सिकाइ घरपरिवारबाट हुने गर्दछ भने तत्पश्चात बालविकास केन्द्रमा भर्ना गरेर सर्वाङ्गीण विकासको अवसर प्रदान गर्ने गरिन्छ । हाम्रो वर्तमान नीतिगत तथा कानुनी व्यवस्था अनुसार चार वर्ष उमेर पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित बालविकास तथा शिक्षालाई प्रारम्भिक बालविकास तथा शिक्षा भनिएको छ ।
प्रारम्भिक बालविकास र शिक्षाले बालबालिकाको शारीरिक, सामाजिक, बौद्धिक, भावनात्मक र भाषिक पक्षहरूको समग्र विकासलाई समेट्छ । प्रारम्भिक बालविकास र शिक्षाको मुख्य उद्देश्य बालबालिकाको सर्बाङ्गीण विकास, जस्तै- शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक, भाषिक र सांस्कृतिक विकासलाई अधिकतम बनाउनु हो ।
बालअधिकारको अवधारणा सन् १९२३ मा बेलायती नागरिक एग्लान्टाइन जेबद्वारा सुरु भएको थियो । उनले बाल संरक्षण सङ्गठन स्थापना गरिन् र बालअधिकारसँग सम्बन्धित सात सन्देश समेत तयार पारिन् ।