लचिलो (सहज) बसाइ व्यवस्थापन

चित्रमा जस्तै गरी बालबालिकाहरूका लागि उचित बसाइको व्यवस्थापन गर्न स्थानीय रूपमा उपलब्ध सामग्रीहरू, जस्तै- पुरानो कपडाको टुक्राहरू प्रयोग गरी कुसन तयार गर्न सकिन्छ ।

यदि बालविकास केन्द्रको बसाइ व्यवस्थापन विविध शारीरिक तथा सिकाइ शैली र आवश्यकता भएका बालबालिकालगायत सबै बालबालिकालाई उपयुक्त हुने गरी बनाइएको छ भने त्यसलाई लचिलो बसाइ व्यवस्थापन भनिन्छ ।

बालविकास केन्द्रमा परम्परागत बेञ्च र डेस्क तथा आधुनिक कार्पेट दुबै वा थप अन्य व्यवस्थापन गरी लचिलो बसाइ व्यवस्थापन भएमा बालबालिकाले सहज रुपमा बसेर सिकाइ गर्न सक्छन् ।  विशेष गरेर शरीरिक तथा  संवेदनात्मक (इन्द्रिय सम्बन्धी) अपाङ्गता भएका बालबालिका तथा फरक शारीरिक आवश्यकता भएका बालबालिकाका लागि यस प्रकारको व्यवस्थापन लाभदायक हुन्छ ।

 

लचिलो बसाइ व्यवस्थापनका फाइदाहरु:

सक्रिय सिकाइमा अभिवृद्धिः

लचिलो बसाइ व्यवस्थापनले बालबालिकालाई दिनभरि सक्रिय बनाउँछ ।विविध बसाइको अवसरले गर्दा बालबालिकाहरु आवश्यकताअनुरुप आरामदायी बसाइ रोज्न, सिकाइमा सक्रिय हुन र सहभागितामा सहयोग गर्दछ ।

विविध सिकाइ शैलीलाई सहयोगः

बालविकास केन्द्रमा लचिलो बसाइ व्यवस्थापनले बालबालिकालाई आफ्नो व्यक्तिगत आवश्यकताअनुरुप बसाइको छनौट गरी गरी सक्रियतापूर्वक बालविकास केन्द्रको दैनिक क्रियाकलापमा सक्रिय सहभागी हुन सक्छन् ।

आरामदायी बसाइ:

लचिलो बसाइ व्यवस्थापनले विविध शारीरिक आवश्यकता भएका  बालबालिकालाई आफ्नो आवश्यकताअनुकूल आरामदायी बसाइ छनौट गर्न सकिन्छ । आरामदायी बसाइले उनीहरूको ध्यान सिकाइमा केन्द्रित हुन्छ ।  बसाइ असजिलो भएमा सिकाइमा भन्दा पनि शरीरको असजिलोपनामा ध्यानकेन्द्रित हुन्छ । त्यसैले यस प्रकारको बसाइ व्यवस्थापनले बालबालिकाले बेञ्चमा अप्ठेरो भए सुकुल वा अन्य ठाउँमा आवश्यकताअनुसार ठाउँ साटेर बस्न सक्ने छन् ।

समावेशिता अभिवृद्धि:

लचिलो बसाइ व्यवस्थापनले बालविकास केन्द्रमा समावेशितालाई अभिवृद्धि गर्दछ । विशेष गरी अपाड्ता भएका बालबालिकाले आफ्नो शारीरिक तथा संवेदनात्मक आवश्यकताअनुरुप आरामदायी र सजिलो बसाइको अवसर पाउँदछन् ।

सहकार्यको भावना विकास:

लचिलो बसाइ व्यवस्थापनले बालबालिकालाई ठुलो तथा सानो समूह र साथी साथीको जोडीमा सहकार्य गर्न सजिलो वातावरण तयार गर्दछ ।

लचिलो बसाइ व्यवस्थापनका केही उदाहारणहरु जसबाट प्रारम्भिक बालविकास केन्द्रका बालविकास शिक्षकले यस प्रकारको व्यवस्थापनलाई सजिलै कक्षाकोठामा लागू गर्न सक्ने छन्, ती यस प्रकार छन् :

  • कार्पेट र चकटीः बालबालिकाको बसाइका लागि भुइँमा कार्पेट र नरम चकटीको व्यवस्था गर्न सकिन्छ । तर कार्पेटको तलतिर चिसो नआउने गरी डन्लप राखिनुपर्दछ ।
  • बिन व्याग कुर्सीः यस प्रकारको कुर्सीमा ससाना बालबालिकाका लागि प्रयोग गरिने तोरीको तकिया जस्तै कुर्चीमा पनि विभिन्न खालका दानाहरु हालिएको हुन्छ । यसले गर्दा बालबालिकालाई बसाइको तरिकाअनुसार यी दानाहरुले वरिपरिबाट आड दिन्छ ।

  • व्यायाम बलः यो हावा भरेर बनाइएको लचिलो र केही ठूलो बल हो यसलाई बालबालिका बस्ने कुर्सीमा राखेर बसाइको मुद्राअनुरुप बनाउन गरिन्छ । यसका माध्यमले बालबालिकाको बसाइको पोस्चर मिलाउन सकिन्छ ।
  • उभिने डेस्कः यो एक प्रकारको अग्लो डेस्क हो जसको प्रयोगले बालबालिको रक्त सञ्चार तथा बसाइको मुद्रा मिलाउन सहयोग गर्दछ ।
  • थर्कने स्टुल:  यो गोलाकार खालको थर्कने स्टुल हो । यसमाथि बसेर बालबालिकाले अलि कम्पन पैदा गर्दै, झुलेर हल्लेर, रमाइलो तरिकाले खेल्न सक्छन् । यसबाट विशेषतः शारीरिक तथा संवेदनात्मक (इन्द्रियसम्बन्धी) अपाङ्ता भएका बालबालिकाले मेरुदण्डको व्यायाम तथा थेरापीको अवसर पनि पाउँछन् र यसले वास्तविक बसाइको मुद्रामा शरीरको बसाइ व्यवस्थापन गर्न पनि सहयोग हुन्छ । 
  • होचो टेबलः यो व्यक्तिगत रुपमा प्रयोग गरिने सहजै यताउता चलाउन मिल्ने होचो टेबल हो । यसमा बालबाललिकाले आफ्नो सामान राखेर क्रियाकलाप गर्न सक्दछन् ।यसको प्रयोगले बालबालिकाले आफ्नो मुद्रालाई शरीरको आवश्यकताअनुरुप व्यवस्थापन गर्दै क्रियाकलाप गर्दछन् ।
  • योगा गुन्द्रीः यो एक प्रकारको नरम खालको बिछ्यौना हो । यो योगा व्यायाम वा थेरापी गर्ने क्रममा भुइँमा बिछ्याइन्छ र यसले शरीरलाई आराम दिने तथा थकाइ मेट्ने काममा सहयोग गर्छ ।