निर्माणात्मक मूल्याङ्कन प्रक्रिया र उदाहरणहरू

मूल्याङ्कन सञ्चालन गर्दा ध्यान दिनुपर्ने निश्चित मार्गनिर्देशनहरू

बालबालिकाको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्दा बालबालिकाको विविधता तथा उनीहरूको फरक सिकाइ क्षमतालाई ध्यान दिनुपर्दछ किनभने प्रत्येक बालबालिकाको सिप सिक्ने तरिका र क्षमता पनि फरक हुन्छ ।

मूल्याङ्कनले बालबालिकाको सर्वाङ्गीण विकास तथा सिकाइ भैरहेको छ छैन सुनिश्चित गर्नुपर्दछ । बालबालिकाको उमेरअनुसार भन्दा पनि विकासात्मक अवस्था अनुसार मूल्याङ्कन विधिहरु प्रयोग गर्नुपर्छ ।

शिक्षकले क्रियाकलाप सहजीकरण गर्दा बालबालिकाले बुझेका छन् कि छैनन् वा दिएका क्रियाकलापहरु शिक्षकसँगसँगै गर्न सकेका छन् कि छैनन् भन्ने शिक्षकले चनाखो भएर हेर्ने, जानकारी लिने र उनीहरूको सिकाइ क्षमता र अवस्थाको आधारमा सिकाइ सुनिश्चित गर्नुपर्दछ ।

सुनाइ र बोलाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूको हकमा उनीहरूले आफ्नो कुरा चित्रबाट, हाउभाउबाट र सङ्केतबाट पनि व्यक्त गर्न सक्ने कुरामा शिक्षकले ध्यान दिनुपर्छ बालबालिकाले बुझ्न वा सिक्न सक्ने तरिकाले शिक्षकले अन्तरक्रिया गर्ने र उनीहरूले जानेका वा सिकेका छन् वा छैनन् भन्ने कुरासँगसँगै मूल्याङ्कन गर्नुपर्छ। कुनै पनि क्रियाकलापको नमुना सङ्कलन गरेर पनि मूल्याङ्कन गर्न सकिन्छ, जस्तै- चित्र बनाउन, रङ्ग लगाउन, पजल मिलाउन दिने र ती काम गर्न सके वा सकेनन् भन्ने कुरा शिक्षकले हेरेर गर्न नसकेको अवस्थामा किन सकेनन्, कहाँ गाह्रो भयो भनी पत्ता लगाएर सोहीबमोजिम बालबालिकालाई सिकाइ सहजीकरण गर्न सकिन्छ।

प्रारम्भिक सिकाइ तथा विकास प्रगति विवरण ELDS Report Card

वर्षमा चार पटक यस प्रारम्भिक सिकाइ तथा विकास प्रगति विवरणमा बालबालिकाको स्तर उल्लेख गर्नुपर्दछ । यो कार्य प्रत्येक चार महिनामा गर्नु आवश्यक हुन्छ ।

प्रत्येक त्रैमासिकमा बालबालिकाको विकास तथा सिकाइ अवस्थाको विषयमा अभिभावक तथा स्याहारकर्ताहरूसँग छलफल गरी जानकारी गराउने गर्नुपर्दछ।

बालविकास केन्द्रको वार्षिक कार्यतालिकाअनुसार प्रारम्भिक सिकाइ तथा विकास प्रगति विवरण बालबालिकाहरू बालविकास केन्द्रमा प्रवेश गर्दाको अवस्थाका साथै पहिलो, दोस्रो र अन्तिम त्रैमासिकका बाकसहरूमा अभिलिखित स्तरका आधारमा मापन गरिनुपर्दछ।