वैयक्तिक प्रारम्भिक सिकाइ योजना: परिचय तथा उद्देश्य

प्रत्येक बालबालिकाहरूका सिकाइ आवश्यकताअनुसारको सिकाइ योजना तयार गर्नुपर्छ । ती योजनाहरू बालबालिकाअनुसार फरक फरक हुन सक्छन् । यस्ता योजनालाई वैयक्तिक प्रारम्भिक सिकाइ योजना भनिन्छ ।

  • अपाङ्गता भएका र नभएका सबै बालबालिकाहरूका सिकाइसम्बन्धी आवश्यकताहरू फरक हुन सक्छन् । त्यसैले कुनै एक सामान्य सिकाइ विधिले सम्पूर्ण बालबालिकाहरूका सिकाइ आवश्यकताहरू पूरा गर्न कठिनाइ हुन सक्छ । यस्तै गरी अपाङ्गताको प्रकारअनुसार पनि सिकाइ आवश्यकताहरू फरक हुन सक्छन् । उदाहरणका लागि कतिपय बालबालिकाले चित्र, श्रव्यदृश्य वा व्यावहारिक विधिबाट राम्रोसँग सिक्न सक्छन् भने कसैलाई साङ्केतिक भाषा चाहिन सक्छ ।
  • वैयक्तिक प्रारम्भिक सिकाइ योजनाअनुसार बालबालिकालाई सिकाउँदा अपाङ्गता भएका तथा सिकाइमा कठिनाइ भएका बालबालिकाको विकास र सिकाइमा त सहयोग पुग्छ नै साथसाथै उनीहरूका कार्यगत सीमिततालाई सम्बोधन गर्न मद्दत हुन्छ । वैयक्तिक योजना बनाउँदा शिक्षकले बालबालिकाले सिक्न सक्छ वा सक्दैन भन्ने सोच राखेरभन्दा पनि मैले उसलाई सिक्नमा कसरी सहयोग गर्न सक्छु भन्ने सोच राखेर बनाउनुपर्छ ।

वैयक्तिक प्रारम्भिक सिकाइ योजनाको उद्देश्य

  • अपाङ्गता भएका, विभिन्न कार्यगत सीमितता (अथवा कतिपय अवस्थामा यसलाई Functional Limitations भन्दा पनि सजिलो हुन्छ)  भएका वा सिकाइमा कठिनाइ हुने बालबालिकालाई सिक्न मद्दत गर्ने वा सिकाइमा सहजीकरण गर्ने ।
  • बालबालिकाको व्यक्तिगत अवस्था, सीमितता वा कठिनाइहरूको विश्लेषण गरी उनीहरूको आवश्यकताअनुसारको र पहुँचयुक्त अनि सहज हुने खालको पाठ्यक्रम, पाठ्य सामग्री र सिकाइ योजना तयार गरी सोमार्फत गुणस्तरीय प्रारम्भिक बाल शिक्षा तथा विकासको अवसर सिर्जना गर्ने ।
  • अपाङ्गता भएका तथा सिकाइमा कठिनाइ भएका बालबालिकाका लागि विद्यालय शिक्षाको आधारशिला तयार गर्ने । यसको मतलब जुनसुकै प्रकारको सिकाइ आवश्यकता भएका बालबालिकालाई पनि बिना भेदभाव सिक्न पाउने वातावरण तयार गर्ने । यसको लागि चाहिने ज्ञान र सिपको दृष्टिकोणबाट विद्यालयलाई सम्पन्न बनाउने ।
  • अपाङ्गता भएका बालकालिकाका सिकाइ आवश्यकता, सिकाइसम्बन्धी कठिनाइहरू र अवरोधहरू सुरूमै पहिचान गरी त्यसलाई सम्बोधन गर्न सहयोग वा हस्तक्षेप गर्ने ।
Shape recognition game, teacher is making rabbit shape with finger in student hand
  • अपाङ्गताको अवस्थालाइ थप जटिल हुनबाट रोक्ने।
  • अपाङ्गता भएका बालबालिका वा सिकाइमा कठिनाइ भएका बालबालिकाको विकास र सिकाइमा सुधार गर्दै सिकाइलाइ गुणस्तरीय बनाउने ।