वैयक्तिक प्रारम्भिक सिकाइ योजनाका विषयवस्तु, सक्षमता र ध्यान दिनुपर्ने कुरा

आज हामी यस प्रस्तुतिमा प्रारम्भिक वैयक्तिक सिकाइ योजनाका विषयवस्तु, अपाङ्गता भएका बालबालिकाले हासिल गर्नुपर्ने सिप र क्षमताहरू र अन्य ध्यान दिनुपर्ने कुराहरूको बारेमा चर्चा गर्नेछौँ ।

सबैभन्दा पहिले प्रारम्भिक वैयक्तिक योजनाका विषयवस्तुहरूको विषयमा कुरा गरौँ ।

  • सामाजिक/ व्यावहारिक सिपः नाता सम्बन्ध बुझ्ने र सोअनुसार व्यवहार गर्ने सिप, एक अर्कासँग कुराकानी गर्ने, अभिवादन गर्ने, मिलेर काम गर्ने, पालो पर्खने, एक अर्कालाई सहयोग गर्ने जस्ता सिपहरू । 
  • सञ्चार, भाषा, साक्षरता र गणितीय सिपः यसअन्तर्गत एक अर्कामा सञ्चार गर्ने विधि र सिप, भाषा सिक्ने कुराहरू, जस्तै- सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषा र यो भाषामा कुराकानी गर्ने सिप चाहिन्छ । यसै गरी यसअन्तर्गत सामान्य गणना गर्ने ज्ञान, अक्षरहरू चिन्ने विषयहरू पर्छन् ।  
  • स्वसहयोग र अङ्ग सञ्चालन सिपः आफूले आफ्नो हेरचाह कसरी गर्ने, विभिन्न दैनिक कामहरू गर्दा वा स्वयम् हेरचाह गर्दा अङ्गहरूको सञ्चालन गर्ने तरिकाहरू ।
  • संवेगात्मक र स्वनियमन सिपः संवेगात्मक अभिव्यक्तिहरू कसरी दिने, तीव्र संवेगलाई कसरी नियन्त्रण गर्ने, स्वनियममा कसरी रहने अर्थात अनुशासनमा कसरी रहनेसम्बन्धी सिप र ज्ञान ।
  • संज्ञानात्मक विकासः बालबालिकाले निरन्तर रूपमा सिकेका, देखेका, भोगेका कुराहरूलाई मानसिक रूपमा सोच्ने, मस्तिष्कमा सङ्ग्रह गर्ने, विचार गर्ने, सम्झने, बुझ्ने, प्रशोधन गर्ने  र अभिव्यक्त गर्ने लगायतका कुराहरू ।    

अब यसपछि हामी बालबालिकालाई हासिल गराउनुपर्ने सिप र क्षमताहरूको विषयमा कुरा गरौँ। अपाङ्गता भएका बालबालिकालाई दैनिक सिकाइ प्रक्रियामा समावेश गराउन र अन्य दैनिक क्रियाकलाप र सामाजिक व्यवहारहरूमा सक्षम बनाउन र अन्य बालबालिकासरह सक्रिय बनाउनका लागि विभिन्न सिपहरू सिकाइन्छ । यसमध्ये हामी यहाँ केही महत्वपूर्ण क्षमता विकासका क्षेत्रहरूको बारेमा चर्चा गर्ने छौँ ।

१. अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोगः समुदाय र समाजमा आफ्ना कुराहरू अभिव्यक्त गर्न कुन भाषा प्रयोग गर्ने र कस्तो विधि र माध्यमबाट प्रयोग गर्ने भन्ने विषयमा अपाङ्गता भएका बालबालिकालाई सक्षम बनाइन्छ ।

२. पोषणयुक्त खाद्य परिकारको पहिचान र दैनिक रूपमा उपयोगः स्वास्थ्य तथा पोषण शारीरिक तथा मानसिक दुबै विकासका लागि महत्वपूर्ण हुन्छ । त्यसैले पोषणयुक्त खानेकुराको पहिचान, जानकारी र दैनिक रूपमा यसको कसरी उपयोग गर्ने भन्ने विषयमा बालबालिकालाई सक्षम बनाइन्छ । के खाने, के नखाने, खाना खाने दैनिक तालिका के हो लगायतका विषयहरू पनि यसअन्तर्गत पर्छन । 

३. स्वस्थकर बानी तथा असल सामाजिक व्यवहारको अनुशरण र आवश्यकतानुसार नमुना प्रदर्शनः यसअन्तर्गत दैनिक सरसफाइका कुराहरू, शरीरलाई स्वस्थ राख्ने कुराहरू र असल सामाजिक व्यवहारहरू,जस्तै- अभिवादन गर्ने, मिलेर काम गर्ने, पालो पर्खने, अरूलाई सहयोग गर्ने, खेल्ने, एक अर्कालाई सम्मान गर्ने, साथी बनाउने आदि पर्छन् ।

४. वैयक्तिक सुरक्षाका उपाय अवलम्बनः यसअन्तर्गत के कुराले आफूलाई हानि गर्छ, कहाँ कस्तो प्रकारको खतरा हुन सक्छ भन्ने कुराहरूको जानकारी र त्यस्ता खतरा र हानिकारक चिजहरूबाट कसरी बच्ने भन्ने विषयमा जानकारीहरू गराइन्छ ।

५. दैनिक व्यवहारका कार्य सम्पादनका क्रममा विषयगत सिकाइ र सिर्जनात्मक सोचको प्रयोगः यसअन्तर्गत बालबालिकामा रहेका सिर्जनात्मक क्षमताहरूलाई पहिचान गरी त्यसलाई प्रस्तुत गराउन मद्दत गर्ने कुराहरू पर्छन्, जस्तै- कथा, कविता लेख्ने वा भन्ने, चित्र बनाउने, गाउने वा नाच्ने, खेल्ने, जोक भन्ने, राम्रा अक्षर लेख्ने, बोल्ने आदि ।

६. सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनमा आधारभूत सिपको प्रयोगः व्यक्तिको सर्वाङ्गीण विकास अर्थात शारीरिक, मानसिक, शैक्षिक, सामाजिक लगायत सबै विकासका लागि गरिने क्रियाकलापमा अपाङ्गता भएका बालबालिकाको सहभागिता गराउनुपर्ने कुरा र यसका लागि चाहिने सिपहरू सिकाउने कुरा यसअन्तर्गत पर्छन् ।

 

योजना निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू

  • वैयक्तिक प्रारम्भिक सिकाइ योजना तयार गर्दा अपाङ्गता भएका बालबलिकाहरू तथा सिकाइमा कठिनाइ भएका बालबालिकारूको सिकाइ आवश्यकता सम्बोधन हुने गरी क्रियाकलाप तथा मूल्याङ्कनका तरिकाहरू तय गर्नुपर्छ ।
  • विशेष गरी दृष्टिविहीन, न्यून दृष्टियुक्त, बहिरा, सुस्त श्रवण, सिकाइसम्बन्धी अपाङ्गता, बौद्धिक अपाङ्गता, स्नायु विकाससम्बन्धी अपाङ्गता तथा मानसिक मनोसामाजिक अपाङ्गता भएका बालबालिकाहरूका लागि सिक्नमा अवरोध नहुने र उनीहरू सहभागी हुन सक्ने गरी क्रियाकलापलाई अनुकूलन गर्नुपर्दछ ।
  • बौद्धिक अपाङ्गता र स्नायु विकाससम्बन्धी अपाङ्गता भएका बालबालिकाले प्रत्यक्ष अनुभव, दृश्य र चित्रबाट सिक्न सक्ने भएकाले वास्तविक वस्तु तथा चित्रात्मक प्रस्तुति, दृश्य सामग्रीको प्रयोग बढी गर्नुपर्दछ । यस समूहका बालबालिकालाई क्रियाकलाप टुक्र्याएर गराउनुपर्ने, पटक पटक दोहोर्याउनुपर्ने र अभ्यासका लागि बढी समय दिनुपर्ने हुन्छ ।
  •  यसै गरी दृष्टिविहीनहरूका लागि पूर्व ब्रेल र इम्बोस्ड चित्र, न्यून दृष्टियुक्तहरूका लागि ठूला छापा अक्षरसहितको सामग्री, बहिराहरूलाई आधारभूत सङ्केत तथा सुस्त श्रवणयुक्त बालबालिकालाई चित्रात्मक प्रस्तुतिका साथै क्याप्सनिङको प्रयोग गर्नुपर्दछ ।
  • सिकाइमा सबै बालबालिकाको पहुँच पुर्याउनका लागि उपलब्धताका आधारमा सूचना प्रविधिको उपयोग गरी उच्च, मध्यम तथा न्यून खालको अनलाइन तथा अफलाइन प्रविधिको प्रयोग पनि गर्नुपर्दछ ।