एकीकृत परिवार सेवा योजना: परिचय तथा उद्देश्य

अपाङ्गता भएका बालबालिकालाई प्रारम्भिक बालविकास कार्यक्रममा समेट्नका लागि परिवार, विज्ञहरू लगायत सरोकारवालाहरूको संलग्नता बढाउने र क्षमता विकास गर्ने उद्देश्यले एकीकृत परिवार सेवा योजनाका मार्गदर्शन तयार गरिएको हो ।

कानुनले के भन्छ ?

सबै बालबालिकाले बाल्यावस्थादेखि नै आफ्नो सर्वाङ्गीण विकासको अवसर पाउनुपर्छ। नेपालको संविधानले प्रत्येक बालबालिकालाई बालविकासको पूर्ण हक सुनिश्चित गरेको छ।यसै गरी अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ ले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई एक वर्षे प्रारम्भिक बालविकास तथा शिक्षा अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।

प्रारम्भिक बालविकासमा अपाङ्गता भएका बालबालिकको समावेशितामा समस्या

१. अपाङ्गताको पहिचान समयमा नहुनु।
२. अपाङ्गता भएका बालबालिकाको विकास र सिकाइमा सहजीकरण गर्न शिक्षकमा पर्याप्त ज्ञान र सिपको कमी हुनु।
३. आफ्ना छोराछोरीको विकास र सिकाइमा अभिभावकलाई सहभागी गराउन नसक्नु।
४.अपाङ्गता भएका बालबालिकाको विभिन्न पक्षको विकासका लागि विभिन्न विज्ञ, सेवा प्रदायक र सरोकारवालाहरूलाई पनि पर्याप्त रूपमा संलग्न गराउन नसक्नु ।

एकीकृत परिवार सेवा योजनाको आवश्यकता र औचित्य

यस योजनाले बालबालिकामा रहेको अपाङ्गता पहिचान गर्ने र त्यसका असर कम गर्न मद्दत गर्नुको साथै बालबालिका तथा परिवारको सबल पक्ष, आवश्यकता, समस्या तथा समाधानका उपायहरु खोजी गर्छ ।

विभिन्न प्रकारका विज्ञ, सरोकारवाला र सेवा प्रदायकसँग समन्वय गरी सेवा र सहयोग गर्ने भएकाले यस योजनालाई एकीकृत परिवार सेवा योजना भनिएको हो।  

एकीकृत परिवार सेवा योजनाका उद्देश्यहरु

(क) प्रारम्भिक बाल्यवस्थाका बालबालिकामा हुन सक्ने अपाङ्गता तथा कार्यगत सीमितता पहिचान गरी अपाङ्गताको असर कम गर्नका लागि आवश्यकताअनुसार, हेरचाह, थेरापीहरू, औषधी परामर्श, पैरवी तथा संरक्षणका सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग सहकार्य गर्ने।
(ख) अपाङ्गता भएका बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने सहयोगहरू गर्ने ।  
(ग) बालबालिकामा हुन सक्ने बौद्धिक, शारीरिक, सञ्चार र सामाजिकीकरणसम्बन्धी कठिनाइहरू, सिकाइसम्बन्धी कठिनाइ, दृष्टि र सुनाइसम्बन्धी लगायतका सीमितता र कार्यगत सीमितता भएका बालबालिकालाई प्रारम्भिक समयमा चाहेको सहयोग र हस्तक्षेपका कामहरू गर्ने ।
(घ) परिवारका आर्थिक सामाजिक लगायत विभिन्न परिस्थितिजन्य कारणबाट बालबालिकाको सर्वाङ्गीण विकासमा बाधा पुगेको भए उक्त बाधा हटाउने उपायहरु खोजी गरी परिवारलाई सहयोग गर्ने ।
(ङ) सिकाइ आवश्यकताअनुसारको सिकाइ योजना तयर गरी बालबालिकाको सिकाइमा सहजीकरण गर्ने । बालबालिकाको सबल पक्ष, सक्षमता, अवरोध तथा रुचि पहिचान गरी सोहीबमोजिमका विकास तथा सिकाइका क्रियाकलाप सञ्चालन गर्ने।
(च) यसै गरी अपाङ्गता भएका बालबालिकालाई उनीहरूका अभिभावक र स्याहारकर्ताबाट विभिन्न प्रकारका सेवाको जरूरत पर्छ । यस्ता सेवाहरू पहिचान गरी तिनमा अपाङ्गता भएका बालबालिकाको पहुँच पुर्याउन सहजीकरण गर्नु पनि यस योजनाको एउटा उद्देश्य हो ।