हरेक बालबालिकालाई एक अर्कासँग भावनात्मक रूपमा नजिक ल्याउने, दैनिक रूपमा एक अर्काप्रति समान व्यवहार गर्न सिकाउने आदि अवस्था सिर्जना गर्न आवश्यक हुन्छ जसलाई प्रारम्भिक बालविकासमा समावेशी संस्कृति भन्ने बुझिन्छ ।
प्रारम्भिक बालविकासका लागि समावेशी संस्कृति किन जरूरी छ ?
समावेशिताको माध्यमबाट हामीले समानता, समान व्यवहार, एक अर्काप्रतिको सम्मान, एउटाले अर्कालाई गर्नुपर्ने समान व्यवहारहरूको विकास गर्न सक्छौँ।समाजमा विभिन्न आधारमा हुने भेदभाव र दुर्व्यवहारलाई समाप्त पार्न समावेशिताको ठुलो योगदान हुने भएकाले प्रारम्भिक बालविकासको क्रममा नै समावेशी संस्कृतिको विकास गर्नु आवश्यक छ ।
समावेशिताको अभ्यास केवल विधि, मापदण्ड र प्रक्रिया मात्र होइन । यदि यसलाई विधि, प्रक्रिया र मापदण्डबाट मात्र हासिल गर्न खोजियो भने यसको मूल उद्देश्य प्राप्त हुन सक्दैन ।
बालविकासमा सिक्ने बालबालिकाहरू अपाङ्गता भएका, नभएका लगायत विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको पृष्ठभूमिबाट आएका हुन्छन् । त्यसैले उनीहरूलाई बालविकास शिक्षकले प्रारम्भिक बालविकास केन्द्रमा एक अर्कालाई स्वीकार्न, एक अर्काका कुराहरू सुन्न, एक अर्कालाई माया र सहयोग गर्न सिकाउनुपर्छ ।
बालबालिका खेल्न र रमाइलो गर्न धेरै मन पराउँछन् । खेलको माध्यमबाट उनीहरूलाई एक अर्काप्रति नजिक ल्याउन सकिन्छ । यसका लागि शिक्षकले अपाङ्गता भएका बालबालिकाहरूलाई समेत समान रूपमा समावेश हुने गरी खेलहरू खेलाउनुपर्छ ।
बालबालिका खेल्न र रमाइलो गर्न धेरै मन पराउँछन् । खेलको माध्यमबाट उनीहरूलाइ एक अर्काप्रति नजिक ल्याउन सकिन्छ । यसको लागि शिक्षकले अपाङ्गता भएका बालबालिकासमेत समान रूपमा समावेश हुने गरी खेलहरू खेलाउनुपर्छ ।
हरेक बालबालिकाको सिकाइ आवश्यकता पहिचान गरी सबैका लागि पहुँचयुक्त हुने विधिबाट सँगै सिकाउने, खेलाउने, विभिन्न क्रियाकलापमा सहभागी गराउने गर्दा उनीहरूले एक अर्कालाइ बुझ्ने र जान्ने अवसर पाउँछन् ।
बालबालिकाहरू कोही छिटो सिक्ने, कोही ढिलो सिक्ने हुन्छन् । यसैगरी बालबालिकामा शारीरिक, मानसिक, बौद्धिक र इन्द्रियसम्बन्धी कठिनाइ वा सीमितताहरू हुन सक्छन् । तर यस्ता कठिनाइ र सीमितताहरूको आधारमा शिक्षकले बालबालिकालाई सिकाइ प्रक्रियाबाट र खेलबाट अलग्याउने वा अन्य बालबालिकाभन्दा कमजोर देखाउने गर्नुहुँदैन ।
बालबालिकाहरू स्वभावैले जिज्ञासु हुन्छन् । खासगरी अपाङ्गता नभएका बालबालिकाले अपाङ्गता भएका बालबालिकाको बारेमा जान्न खोज्छन् । यस्ता जिज्ञासाहरु सम्बोधन गर्दा शिक्षकले दयाको भाव देखाउने, बिचरा भन्ने गर्नुहुँदैन। उनीहरूका सबल पक्षहरूको पहिचान गरी सिकाइमा सहयोग गर्नुपर्छ ।
विविध अवरोघहरूले अपाङ्गता भएका बालबालिकाहरुलाई साथी बनाउन समस्या पर्न सक्छ । यस्तो अवस्थालाई ध्यानमा राखी शिक्षकले बालबालिकालाई एक आपसमा घुलमिल गराउने, सँगै राखेर खेल खेलाउने, एक आपसमा कुराकानी गर्न लगाउने वा ती कार्यहरूमा प्रेरित गर्नुपर्दछ ।
प्रारम्भिक बालविकास तथा शिक्षामा समावेशी संस्कृति विकासका लागि सबैभन्दा ठुलो भूमिका शिक्षकको नै हुन्छ त्यसपछि अभिभावकको भूमिका हुन्छ । शिक्षकलाई चाहिने ज्ञान,सिप, सूचनाको अवसर र सिकाउन आवश्यक पर्ने सामग्री विद्यालय व्यवस्थापनले उपलब्ध गराउनुपर्छ । अभिभावकले आफ्ना छोराछोरीहरूलाई कुनै पनि आधारमा हुने भेदभावजस्ता कुराहरू सिकाउनुहुँदैन अथवा भेदभावजन्य व्यवहारहरू गर्नुहुँदैन । बालबालिकाले अपाङ्गता भएका साथीहरुको बारेमा कुरा गरे उनीहरुलाई माया गर्न, सँगै खेल्न र मिलेर सिप सिक्न सिकाउनुपर्छ । यस्ता कुराहरु अभिभावकलाई सिकाउन शिक्षकले अभिभावकहरूसँग नियमित बैठक राख्नुपर्दछ र कहिलेकाहीँ प्रत्यक्ष अवलोकन पनि गराउनुपर्दछ।