समावेशी प्रारम्भिक बालविकास तथा शिक्षाका आवश्यक तत्वहरू

समावेशी प्रारम्भिक बालविकास तथा शिक्षाको अवधारणाले अपाङ्गता भएकाहरूसहित सबै बालबालिकाहरूका विविध आवश्यकता र क्षमताहरूलाई सम्मान र सम्बोधन गर्ने वातावरणको सिर्जना गर्दछ । यस अवधारणाअनुसार बालबालिकाहरूमा भएको विविधताको बुझाइ र फरक-फरक क्षमतालाई स्वीकार तथा सम्मान गर्ने गरिन्छ ।  

प्रारम्भिक बालविकास तथा शिक्षाका कार्यक्रमहरू समावेशी हुनका लागि निम्न पक्षहरू महत्वपूर्ण हुन्छन् :

समावेशी प्रारम्भिक बालविकासका तत्वहरू:

पहुँचयोग्य वातावरण

सांस्कृतिक रूपमा विविध पुस्तकहरू, कला तथा सङ्गीत र अन्य सामग्रीहरू तपाईँको कक्षाकोठामा उपलब्ध गराउनुहोस् । यसले बालबालिकालाई उनीहरूको आफ्नै सांस्कृतिक परम्परा र अनुभवहरू साटासाट गर्न प्रोत्साहित गर्दछ ।

समावेशी पाठ्यक्रम

समावेशी बालविकास तथा शिक्षाको पाठ्यक्रमले विविधताको स्वीकृति र बुझाइलाई बढवा दिएर सबै बालबालिकाको सफलता र कल्याणलाई बढवा दिनुपर्दछ । विभिन्न संस्कृति, भाषा र बालबालिकाको विविध सिकाइ आवश्यकतालाई सम्बोधन गर्न सिकाइ सामग्री र क्रियाकलापहरूमा समायोजन र सिकाइ रणनीतिमा परिवर्तन गर्ने कार्य आदि गर्नुपर्दछ ।

सम्बन्ध विस्तार

समावेशी बालविकास तथा शिक्षाले बालबालिका, शिक्षक र हेरचाहकर्ताहरूबिच सहयोगी सम्बन्धलाई जोड दिन्छ । यसमा बालबालिकाहरूका बिचमा सकारात्मक अन्तरक्रिया र सामाजिक-भावनात्मक विकासलाई प्रोत्साहन गर्ने रणनीतिहरू समावेश गरिनुपर्छ । यसका साथै बालबालिकाका विविध आवश्यकता र क्षमताहरूलाई सम्बोधन गर्न शिक्षक र हेरचाहकर्ताहरू बिचमा नियमित बैठक तथा तालिम हुनुपर्दछ ।

सरोकारवालाहरूसँगको सहकार्य

समावेशी बालविकास तथा शिक्षाका लागि अभिभावक, हेरचाहकर्ता र अन्य सरोकारवालाहरूसँगको सहकार्य हुनु निकै आवश्यक छ । बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक, हेरचाहकर्ता र सरोकारवालाहरुको बिचमा सहकार्य हुनु निकै आवश्यक छ । यसले सफलता र समावेशीकरणलाई बढवा दिन सहयोगसमेत गर्दछ ।

व्यावसायिकता विकास

व्यावसायिकताको विकास समावेशी बालविकास तथा शिक्षाको अर्को एक महत्वपूर्ण तत्व हो । यसले शिक्षक, अभिभावक र हेरचाहकर्ताहरूलाई बालबालिकाका विविध आवश्यकता र क्षमताहरूलाई बुझ्नमा आवश्यक ज्ञान र सिपहरू प्रदान गर्दछ ।