प्रारम्भिक बालविकास केन्द्रका कक्षाकोठाहरू अपाङ्गता भएका, विशेष आवश्यकता भएका, सिकाइमा कठिनाइ भएकासहित सबै बालबालिकाहरूका लागि सहज वातावरण प्रदान गर्ने किसिमका भयो भने यसले सबै बालबालिकाहरूको शिक्षाको अधिकार सुनिश्चित गर्नुका साथै गुणस्तरीय शिक्षामा अपाङ्गता भएका बालबालिकाहरूको पहुँच सुनिश्चित गर्दछ ।
नेपाल सरकारको परिभाषाअनुसार अपाङ्गताका १० ओटा प्रकार हुने भए पनि सिकाइका आवश्यकता तथा रणनीतिअनुसार विश्वव्यापी रूपमा अपाङ्गताका मुख्यतया चारओटा समूह छन् जो यसप्रकार छन् :
शारीरिक अपाङ्गता
इन्द्रिय सञ्चालनसम्बन्धी अपाङ्गता
बौद्धिक वा सिकाइसम्बन्धी अपाङ्गता
व्यवहारजन्य र भावनात्मक अपाङ्गता
यहाँ उपर्युक्त अपाङ्गता समूहमा पर्ने बालबालिकाहरूका विशेषताहरू र ती बालबालिकाहरूको विकास तथा सिकाइमा सहजीकरण गर्ने तरिकाहरूका विषयमा छलफल गरौँ है त ।
शारीरिक अपाङ्गता
स्थूल र सूक्ष्म मांशपेशी तथा अङ्गका प्रयोगमा कठिनाइ हुने बालबालिकाहरू यो समूहमा पर्छन्, जस्तै- हात वा खुट्टा चलाउन कठिनाइ, हिँड्न नसक्ने, सेरेबल पाल्सी, कृत्रिम अङ्गको प्रयोग गर्ने, प्यारालाइसिस भएका आदि ।
सिकाइ सहजीकरण गर्ने ?
शारीरिक अपाङ्गता भएका बालबालिकाहरूका लागि कक्षाकोठा सहजै पहुँचयुक्त हुने स्थानमा हुनुका साथै कक्षाकोठामा सरसामानहरू जथाभावी नराखी सबै किसिमका अवरोधहरू मुक्त बनाउनुपर्छ ।
बालबालिकाहरूको अवस्थाअनुसार उचित बसाइ तथा सिट व्यवस्थापन गर्न जरूरी हुन्छ। शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई खेलसँगै आधारभूत थेरापी पनि प्रदान गर्न सकिन्छ ।
शारीरिक अपाङ्गता भएका बालबालिकाहरूका लागि बहुइन्द्रिय सिकाइ सामग्रीको प्रयोग गर्ने तथा उनीहरूको शारीरिक अवस्थाअनुसार क्रियाकलाप अनुकूलन गर्न सकिन्छ ।
कक्षाकोठामा खेलाइने खेल तथा सिकाइ क्रियाकलापमा वैकल्पिक उपायका साथ शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई समावेश गर्न सकिन्छ ।
इन्द्रिय सञ्चालनसम्बन्धी कठिनाइ
इन्द्रिय सञ्चालनसम्बन्धी कठिनाइ भएका बालबालिकाहरू भनेका एक वा बहुइन्द्रियबाट जानकारी प्राप्त गर्न वा प्रशोधन गर्न कठिनाइ हुने बालबालिकाहरू हुन् । उदाहरणका लागि दृष्टिविहीन, न्यून दृष्टियुक्त, सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाहरू यसमा समेटिन्छन् ।
सिकाइ सहजीकरण कसरी गर्ने ?
बालबालिकाहरूको सहजताका लागि कक्षाकोठालाई इन्द्रियमैत्री तथा शान्त राख्ने र भुईँमा अन्य ठाउँलाई अवरोधमुक्त बनाउनुपर्छ ।
बालबालिकाहरूको सिकाइका लागि स्पर्शनीय सामग्री वा सङ्केतहरूको प्रयोग गर्नुपर्छ ।
कक्षाकोठामा नियमित कार्यतालिका तयार गरी लागू गर्ने तथा इन्द्रियहरूलाई आराम दिनका लागि नियमित ब्रेक पनि चाहिन्छ ।
बालबालिकाहरूको सिकाइ सहजीकरणका लागि उपलब्ध भएअनुसारका सूचना प्रविधिका सामग्री प्रयोग गर्न सकिन्छ ।
कुनै पनि जानकारी दिँदा बहुविधि अपानाउनुपर्ने हुनसक्छ,जस्तै- चित्र बनाएर, लेखेर वा मौखिक रूपमा जानकारी दिएर ।
बौद्धिक वा सिकाइसम्बन्धी अपाङ्गता
बौद्धिक वा सिकाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाहरू भन्नाले सिकाइ, संवेग तथा व्यवहारको विकास अरू सरह नभएका बालबालिकाहरूलाई बुझिन्छ,जस्तै- डाउन सिन्ड्रोम, बौद्धिक अपाङ्गता, अटिजम वा अन्य व्यवहारजन्य अपाङ्गता भएका बालबालिका ।
सिकाइ सहजीकरण कसरी गर्ने ?
बालबालिकाहरूको सहजताका लागि नियमित तथा तोकिएको तालिका, सकारात्मक पुनर्बल, व्यवहार व्यस्थापन रणनीति, सामाजिक अन्तरक्रिया तथा सिप विकासका क्रियाकलाप तथा सूचना प्रविधिको प्रयोग गर्नुपर्छ ।
बालबालिकाहरूको सिकाइ प्रवर्धनका लागि वैयक्तिक सिकाइ योजना पनि तयार गरेर लागू गर्नुपर्ने हुन्छ ।
बालबालिकाहरूको स्मरण सहायताका लागि दोहोरो वा लगातार निर्देशन दिनाले पनि कक्षाकोठामा सिकाइलाई समावेशी बनाउन सकिन्छ ।
व्यवहारजन्य तथा भावनात्मक अपाङ्गता
व्यवहारजन्य तथा भावनात्मक अपाङ्गता भएका बालबालिकाहरूलाई आफ्नो भावना, व्यवहार तथा मानसिक स्वास्थ्य नियमनमा कठिनाइ हुने गर्दछ, जस्तै- एनजाइटी डिसअडर, डिप्रेसन वा अन्य मनोसामाजिक अपाङ्गता तथा व्यवहारजन्य कठिनाइ भएका बालबालिकाहरू ।
सिकाइ सहजीरकण कसरी गर्ने?
बालबालिकाहरूका लागि सकारात्मक व्यवहार सहयोगी रणनीति, जस्तै- सकारात्मक पृष्ठपोषण, पुनर्बलको प्रयोग गर्नुपर्छ ।
बालबालिकाहरूका लागि वैयक्तिक सहयोग योजना तयार गर्ने तथा इन्द्रियहरूलाई शान्त राख्ने साधन वा रणनीति पनि आवश्यक हुन्छ ।
शिक्षकले स्पष्ट र सटिक निर्देशन, सकारात्मक सुझाव प्रदान गर्नुपर्छ । यसका साथै सिकाइका लागि दृश्यात्मक सामग्रीको प्रयोग गर्नुपर्छ ।
बालबालिकाहरूलाई सिर्जनात्मक अभिव्यक्तिका लागि उपयोगी क्रियाकलाप, जस्तै- चित्रकला, गायन वा नृत्यमा सहभागी पनि गराउन सकिन्छ ।
थप महत्वपूर्ण पक्ष
अपाङ्गता भएकासहित सबै बालबालिकामैत्री कक्षाकोठा निर्माणका लागि थप केही महत्वपूर्ण पक्षका बारेमा छलफल गरौँ :
कक्षाकोठा सुरक्षित र पहुँचयोग्य छ भनी सुनिश्चित गर्ने
उज्यालो र आकर्षक रङहरू प्रयोग गर्ने
विभिन्न शैक्षणिक गतिविधिहरूका लागि निश्चित ठाउँ तोक्ने
उमेर उपयुक्त तथा बालविकासका लागि उपयुक्त सामग्रीहरू प्रयोग गर्ने
स्पष्ट र सटिक भाषा प्रयोग गर्ने
सञ्चारलाई सहज बनाउन दृश्यात्मक माध्यमको प्रयोग गर्ने
खेलमा आधारित सिकाइका क्रियाकलाप तयार गर्ने
आवश्यकताअनुसार विभिन्न प्रकारका मूल्याङ्कन विधिहरू प्रयोग गर्ने