अपाङ्गताको विकासक्रम र अपाङ्गतालाई हेर्ने दृष्टिकोणलाई अपाङ्गताको अवधारणा भनेर बुझ्न सकिन्छ । अब हामी अपाङ्गतालाई बुझ्ने ३ ओटा अवधारणाका बारेमा चर्चा गरौँ ।
(१) दयामुखी अवधारणा
यस अवधारणाअनुसार:
अपाङ्गता भएका व्यक्तिहरूलाई धार्मिक विश्वाससँग जोडिन्छ । उनीहरूलाई दान गर्दा तथा सहयोग गर्दा पुण्य कमाइन्छ भन्ने आम सोचाइ पाइन्छ ।
अपाङ्गता भएका व्यक्तिहरू उत्पादनशील नागरिक हुन सक्नेभन्दा पनि अन्य नागरिकहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् किनभने उनीहरूलाई सधैँ अरूको सहयोग चाहिन्छ ।
अपाङ्गता व्यक्तिगत समस्या हो । अपाङ्यगता भएका व्यक्तिहरू कमजोर हुन्छन् र उनीहरूलाई दया गर्नुपर्छ ।
(२) चिकित्सकीय अवधारणा
यस अवधारणाअनुसार:
अपाङ्गता व्यक्तिको स्वास्थ्यसम्बन्धी समस्या हो जसले अशक्त र असामान्य अवस्थामा पुर्याँउछ । यो व्यक्तिको आफ्नो समस्या हो।
अपाङ्गतालाई औषधि उपचार गरेर निको पार्नुपर्छ, यसबाहेक यसको कुनै अर्को समाधान छैन ।
अपाङ्गता भएका व्यक्ति बिरामी हुन् । उनीहरुलाई अलग्गै सुविधाहरू दिनुपर्छ । उनीहरूलाई एक ठाउँमा राखेर उपचार, थेरापी, शिक्षा, तालिमजस्ता कुराहरू उपलब्ध गराउनुपर्छ ।
यी माथिका दुई अवधारणाको प्रभावले अपाङ्गता भएका व्यक्तिहरुमा आक्रोश पैदा भयो । उनीहरु दयाको पात्रको रुपमा मात्र परिचित भए । उनीहरूलाई समाज र घर परिवारबाट अलग्याएर राख्नाले सहभागितामा कमी आयो ।यसले गर्दा बञ्चितीकरणमा परे । हरेक क्षेत्रमा अवरोधको सामना गर्दा उनीहरु परनिर्भर हुँदै गए । उत्पादनशील हुन नसक्दा गरिबी बढ्दै गयो । यसको फलस्वरुप सामाजिक अवधारणाको विकास भएको मानिन्छ ।
(३) सामाजिक अवधारणा
यस अवाधारणाअनुसार:
अपाङ्गता व्यक्तिको व्यक्तिगत समस्या होइन, यो सामाजिक समस्या हो।
मानव निर्मित संरचनाहरुले अपाङ्गता भएका व्यक्तिहरूमा सिर्जना गरेको अवरोधको अवस्था नै अपाङ्गता हो।
अपाङ्गता व्यक्तिको शारीरिक वा मानसिक अवस्थाले भन्दा पनि ऊमाथि गरिने विभेद र उपेक्षाले गर्दा सिर्जना हुन्छ।
अपाङ्गता भनेको दीर्घकालीन शारीरिक वा मानसिक विचलन भएका व्यक्तिहरूले समाज, समुदाय, वातावरण र प्रणालीसँग अन्तर्क्रिया गर्दा सामना गर्नुपर्ने अवरोधहरूका कारण उत्पन्न समग्र अवस्था हो ।