बालबालिकाको उमेर र क्षमताअनुसार बृहत् क्रियाकलापलाई टुक्र्याएर ससाना क्रियाकलापमा परिणत गरी उनीहरूलाई सहजता प्रदान गर्ने कार्य नै कार्य विश्लेषण हो । यो विशेष गरी अपाङ्गता भएका बालबालिकालाई योजनाबद्ध सहभागितात्मक सिकाइ वातावरण निर्माण गर्ने सरल विधि हो ।
यसका केही उदाहरणहरू तल प्रस्तुत गरिएका छन् :
कार्य पहिचान कार्य विश्लेषणको पहिलो चरण हो । यसका लागि बालविकास शिक्षकले कार्यको स्पष्ट बुझाइ हासिल गरेर विशेष सिकाइ आवश्यकता भएका बालबालिकालाई उपयुक्त हुने गरी कार्यहरु टुक्र्याएर छनौट गर्नुपर्छ ।
पहिलो चरणमा पहिचान भएको कार्यलाई सम्पन्न गर्न बालाबालिकालाई आवश्यक पर्ने सिपको पहिचान गर्ने र सिप पहिचान गरिसकेपछि उचित सामग्री चयन यो चरणमा गर्नुपर्दछ ।
कक्षाकोठामा गरिने क्रियाकलापहरूलाई ससाना बालबालिकालाई उमेर र सिकाइको तह सुहाँउदो गरी टुक्र्याएर गराउँदा उनीहरूलाई कार्य प्रक्रिया र बुझाइ प्रभावकारी हुन्छ । यसका लागि प्रत्येक तहमा दृष्टिसम्बन्धी उपकरणहरु, चित्र, पोष्टर आदिले बुझाइ स्पष्ट पार्न सहयोग गर्छ ।
यसरी टुक्र्याइएका कार्यहरू बालबालिकालाई अभ्यास गर्न लगाउनु आवश्यक हुन्छ जसले उनीहरुको सिप र आत्मविश्वास अभिवृद्धि गर्दछ । यसरी अभ्यास गर्दा उनीहरूलाई दोहोर्याएर कार्य गर्न दिने, पुनर्बल दिने र सकारात्मक पृष्ठपोषण प्रदान गर्नुपर्छ ।
बालबालिकालाई उत्प्रेरित र व्यस्त बनाउनका लागि प्रगति अनुगमन तथा पृष्ठपोषणले कार्य विश्लेषण प्रक्रियालाई सहयोग गर्छ । यसरी निरन्तर पृष्ठपोषण र स्वमूल्याङ्कनको अवसर प्रदान गर्दा बालबालिकामा स्वतन्त्रता र दायित्वको विकास गर्दछ ।
सिकाइमा कार्य विश्लेषणको अभ्यासद्वारा बालविकास शिक्षकले सकारात्मक, सहयोगी, सिकाइ वातावरण सिर्जना गर्दै विविध आवश्यकता भएका बालबालिका र अपाङ्गता भएका बालबालिकालाई समावेशी वातावरण सिर्जना गर्न सक्छन् । बालविकास शिक्षकले कक्षाकोठामा बृहत् कार्यलाई टुक्र्याउने, अभ्यासको अवसर दिने, निरन्तर प्रगति अनुगमन गर्ने र पुनर्बल प्रदान गर्नाले बालबालिकामा सिप र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग गर्दछ ।