सिकाइ तथा सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूलाई सिकाइ सहयोगका लागि दृश्य तथा स्पर्शजन्य सामग्री प्रयोग गरिन्छ । यस प्रकारका सामग्रीहरू विविध सिकाइ शैली भएका बालबालिकालाई प्राथमिकतामा राखेर निर्माण गरिएका हुन्छन् र बालबालिकालाई बहुइन्द्रिय सिकाइ अनुभव हासिल गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्छन् ।
दृश्य सामग्रीको प्रयोग दृश्य सामग्रीहरू,जस्तै-चित्र,भिडियो,पोस्टर आदिको प्रयोगले बालबालिकाले कुनै पनि वस्तुको अवधारणा स्पष्ट बुझ्न सहयोग गर्छ । त्यसैले बालविकास केन्द्रमा दृश्य तथा स्पर्शजन्य सामग्रीहरूको प्रयोगले विविध सिकाइ आवश्यकता भएका साथै अपाङ्गता भएका बालबालिकाको सहभागिता बढाउन सहयोग गर्दछ ।
फेरबदल गर्ने अवसर कक्षाकोठामा सामग्रीहरू फेरबदल गर्ने, मिलाउने, बिगार्ने, उपयुक्तताअनुसार छनौट गर्ने, आदि अवसर प्रदान गर्नका लागि बालबालिकालाई पजल, ब्लक, गन्तीका सामग्रीहरू आदि प्रयोग गर्न दिनुपर्छ । यसले गर्दा स्पर्श क्षमता बढाई अपाङ्गता भएकासहित सबै बालबालिकालाई सक्रिय सहभागिताको अवसर प्राप्त हुन्छ । बालविकास केन्द्रमा न्यूनतम मापदण्डअनुसार पूर्व गणितीय सिकाइ क्षेत्रमा यी सामग्री राख्नुपर्छ ।
स्पर्शजन्य सामग्रीको प्रयोग
प्रभावकारी सिकाइका लागि बहुस्पर्श वा इन्द्रिय उपयोगी सामग्री आवश्यक हुन्छ । उदाहरणका लागि खाक्सी, कपडाका फित्ताहरू, माटोको क्रियाकलाप, स्पर्शजन्य बोर्ड आदिले बालबालिकाहरूले दृश्य र स्पर्शको अवसर प्राप्त गर्दछन्। यसले पनि अपाङ्गता भएकासहित सबै बालबालिकाहरूको उपयुक्त सिकाइको अवसर प्रदान गर्न प्रभावकारी भूमिका निर्वाह गर्दछ ।
अन्तरक्रियात्मक सेतोपाटी दृष्टि र आवाजसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई सिकाइ सहज गराउन अन्तरक्रियात्मक सेतोपाटीले बहुआयामिक तरिकाले सिकाइ अनुभव प्रदान गर्न महत्त्वपूर्ण साधनको रूपमा काम गर्दछ । साथै अन्य सिकाइ आवश्यकता भएका बालबालिकालाई पनि यसले प्रभावकारी उपलब्धि हासिल गर्न सहयोग गर्दछ ।