परिचय
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्थापना साविकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेका तीन ओटा केन्द्रिय निकायहरू शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रलाई एकीकृत गरी २०७५ साल जेठ ६ गते नेपाल सरकारबाट भएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनको साथै अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा, निःशुल्क माध्यमिक शिक्षा, विद्यालय शिक्षामा समतामूलक पहुँच र सहभागिता सुनिश्चित गर्न तथा विद्यार्थीहरुको सिकाइ उपलब्धिमा सुधार गरी समग्र विद्यालय शिक्षामा गुणस्तर सुधार र सुशासन कायम गर्ने कार्य गर्दछ । सवैको लागि समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितताको साथै आजीवन सिकाइका अवसरहरु विस्तार गर्ने लक्ष्य हासिल गर्नको लागि विद्यालय शिक्षा योजना तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन, समन्वय र सहजीकरण गर्ने काम गर्दछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कार्यहरुलाई ३ वटा क्षेत्रमा वाँडेर हेर्न सकिन्छः विद्यालय शिक्षाको लागि आवश्यक मापदण्डहरुको विकास तथा विद्यालयहरुमा अनुदान रकम निकासा, शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन र साक्षरता तथा आजीवन सिकाइ कार्यमा सहयोग ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा रही विभिन्न केन्द्रीय निकाय, प्रदेश सरकार तथा स्थानीय तह एवम् विभिन्न विकास साझेदार संस्थाहरु सँगको समन्वय र सहकार्यमा विद्यालय शिक्षा क्षेत्र योजना, वार्षिक कार्यक्रम तर्जुमा, विभिन्न मापदण्डहरुको विकास तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि समन्वय, सहकार्य र सहजीकरणको काम गर्दछ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शैक्षिक योजना तथा विकास महाशाखा, मानव संसाधन विकास महाशाखा शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा गरी तीनओटा महाशाखाहरू रहेका छन् । केन्द्रको प्रमुखको रूपमा महानिर्देशक रहने र प्रत्येक महाशाखाको नेतृत्व उपमहानिर्देशकवाट हुने व्यवस्था रहेको छ । केन्द्र अन्तर्गत सत्रओटा शाखाहरू रहेकाछन् भने जिल्लामा केन्द्रको कामलाई सहयोग , समन्वय र सहजीकरण गर्नको लागि प्रत्येक जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइहरू रहेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यविवरण
- विद्यालय शिक्षासम्बन्धी द्विपक्षिय र बहुपक्षिय विकास साझेदारहरु र निकायसंगको समन्वय ।
- शिक्षासम्वन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता तथा सम्झौता अनुरुप विद्यालय शिक्षा क्षेत्र विकास योजना लगायतका आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन तथा समन्वय ।
- अनिवार्य आधारभूत शिक्षा र माध्यमिक शिक्षा एवम् राष्ट्रिय पठनसीप लगायतका विषयमा नमूना कार्यक्रम विकास तथा कार्यान्वयन ।
- मानव संसाधन प्रक्षेपण योजना तर्जुमा, त्यस अनुरुप शैक्षिक योजना, कार्यक्रम विकास एवम् मानव संसाधन विकास योजना तयार ।
- विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि अध्ययन अनुसन्धान गर्ने गराउने तथा राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण तथा अनुगमन ।
- प्रदेश र स्थानीय तहबाट माग भएबमोजिम प्राविधिक विषयमा सहजीकरण एवम् समन्वय ।
- विद्यालय शिक्षाको एकीकृत शैक्षिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा प्रबोधिकरण ।
- विद्यालय शिक्षाको लागि भौतिक सुविधा सहितको न्यूनतम सिकाइ अवस्थाको योजना निर्माण तथा कार्यान्वयनको लागि आवश्यक स्रोत व्यवस्थापन एवम् सहजीकरण ।
- प्रारम्भिक बालविकास तथा शिशु शिक्षा सम्बन्धी नीति तथा मापदण्ड निर्धारण एवम् कार्यक्रम सञ्चालनको समन्वय ।
- अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण तथा कार्यान्वयनमा सहजीकरण ।
- माध्यमिक शिक्षा तर्फ साधारण तथा प्राविधिक शिक्षाको लागि आवश्यक नीतिगत व्यवस्था ।
- शिक्षण संस्थाको स्थापना र सञ्चालनको न्यूनतम राष्ट्रिय मापदण्ड निर्धारण तथा आवश्यक समन्वय, सहजीकरण र अनुगमन ।
- विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोगका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन एवम् सहजीकरण ।
- विद्यालय शिक्षामा पहुँच बढाउन छात्रवृत्ति, दिवाखाजालगायतका प्रोत्साहन कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण ।
- शिक्षक व्यवस्थापन तथा विकासका लागि मापदण्ड तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण ।
- सेवाकालीन शिक्षक तालिमको लागि पाठ्यक्रमको ढाँचा निर्माण एवम् स्वीकृति, कोर्स तथा स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारणगर्ने ।
- प्रदेश अन्तरगतका शैक्षिक तालिम कार्यक्रम तथा निकायहरुको सम्वन्धन, प्राविधिक सहयोग, समन्वय,अनुगमन तथा नियमन ।
- शिक्षक तालिम सम्बन्धी नीति, मापदण्ड र स्तरीकरण, पाठ्यक्रम प्रारुप, योग्यता निर्धारण, सिप परीक्षणको मापदण्ड तथा तालिम केन्द्रसंगका समन्वय समावेशी शिक्षा, लैगिक समविकास, मातृभाषा, तथा विशेष शिक्षा सम्बन्धी कार्य ।
- विद्यालयमा हुने विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षित विद्यालय नीति तथा एकीकृत विद्यालय सुरक्षा कार्यक्रम सम्बन्धी कार्यक्रमहरूको विकास तथा कार्यान्वयन ।
- नमूना विद्यालय विकास,व्यवस्थापन एवम् सञ्चालनमा समन्वय र सहजीकरण ।
- परम्परागत(गुरूकूल,गुम्बा,गोन्पा,मदरसालगायत), बैकल्पिक एवम् खुला शिक्षा तथा निरन्तर सिकाइसम्बन्धी नीति एवम् मापदण्ड निर्धारण तथा कार्यान्वयमा सहजीकरण ।
- विभिन्न तहमा शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक सामग्रीको सूची विकास,तालिम पाठ्यक्रम तथा सन्दर्भ सामग्री विकास र प्रमाणीकरण, नमूना तालिम सामग्री उत्पादन तथा वितरण सम्बन्धी कार्यहरु ।
- विद्यालय शिक्षाका नमूना परीक्षण कार्यक्रमहरू सञ्चालन र प्राप्त नतिजाका आधारमा आवश्यक सुधारका नीति तर्जुमा ।
- भाषिक, लैङ्गिक, अपाङ्गतालगायतका विविधतालाई व्यवस्थापन गर्न समावेशी शिक्षा नीति अनुरूपका नमूना कार्यक्रमहरू तर्जुमा एवम् कार्यान्वयन ।
- विद्यालय पोषण,बालमैत्री विद्यालयसम्बन्धी सहजीकरण तथा सवलीकरणका कार्यहरु ।
- शिक्षक तथा शिक्षा प्रशासनमा कार्यरत जनशक्तिको क्षमता विकास सम्बन्धी मापदण्ड विकास, कार्यक्रम तर्जुमा,कार्यन्वय र प्रमाणीकरण ।
- दूर शिक्षा/खुला सिकाइ कार्यक्रमको लागि,श्रव्य तथा श्रव्यदृष्य सामग्री विकास एवम् प्रसारण, कार्यक्रम सञ्चालन एवम् समन्वय ।
- स्वदेशी तथा विदेशी दातृसंस्था,सरकारी तथा गैह्र सरकारी संस्था एवम् तालिम प्रदायक संस्थाहरूसँग साझेदारी र सहकार्यमा शैक्षिक गुणस्तर सुधारसम्बन्धी कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन ।
- अनौपचारिक शिक्षा, निरन्तर शिक्षा तथा सामुदायिक सिकाइ केन्द्रको नीति तर्जुमा योजना विकास र नियमन ।
- केन्द्रमा कार्यरत कर्मचारीको व्यवस्थापन, बृत्ति विकास, क्षमता विकास र आन्तरिक व्यवस्था सम्बन्धी कार्यहरु ।
- समावेशी शिक्षा, लैङ्गिक समविकास तथा विशेष शिक्षा सम्बन्धी कार्यहरु ।
- स्रोतकेन्द्रको मापदण्ड, नक्साङ्कन र स्रोतव्यक्तिको छनौट तथा सेवा सर्त सुविधासम्बन्धी कार्यहरु ।
- प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय गर्न तोकिएका अन्य कार्य ।
- शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेका अन्य कार्यहरु ।